सिमरा। विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब १४औँ जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति सिमरा रंशालामा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीविरुद्ध मच्छिन्द्रले १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो। मच्छिन्द्रको जितमा खेलको ६९औँ मिनटमा सौरभ लिम्बुले एक मात्र निर्णायक गोल गरे।
खेलको ६३औँ मिनटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका लिम्बुले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए। सेन्टर लाइनबाट बल अघि बढाएका विमल घर्तीमगरको पासमा सौरभ लिम्बुले डीबक्स बाहिरैबाट बललाई गोलपोस्टको दिशा दिएका थिए। मच्छिन्द्र प्रयासलाई रोक्न डी–एरिया बाहिरै आइपुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए।
खेलको ८८ औँ मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो। आर्मीका डिफेन्डर विमल पाण्डेले मच्छिन्द्रका विमल घर्तीमगरलाई डीबक्स भित्र लडाएपछि एन्फा रेफ्री उमेश विडारीले मच्छिन्द्रलाई पेनाल्टी मौका दिएका थिए। मच्छिन्द्रका देवेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथि गयो। खेलको अन्तिम समयमा पाएको सो अवसर गुमाउँदा मच्छिन्द्रले अग्रता जोगाउन अन्तिम संघर्ष गर्नुपर्यो।
राष्ट्रिय टिमका चर्चित अनुहारहरू सिमरा रङ्गशालामा उत्रँदा रंशालामा उपस्थित पाँच हजार बढी दर्शक उत्साहित देखिन्थे। प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले आकर्षक अवसरहरू सिर्जना गरेपनि पहिलो गोलका लागि ६९ मिनटसम्म कुर्नु परेको थियो।
खेलको म्यान अफ दी म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी घोषित भए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत बुधबार आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल हुनेछ।