एजेन्सी । स्पेनिस ला लिग फुटबलमा रियल मड्रिड घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसंग २ - ० गोल अन्तरले पराजित भएको हो ।
सान्टियागो बेर्नाबेउमा रियललाई स्तब्ध बनाउन सोसीडाडका विलियन जोसे र रुबेन पार्डोले एक एक गोल गरे ।
१० खेलाडीमा सिमित बनेको रियलविरुद्ध सोसीडाडले तेस्रो मिनेटमा जोसेको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो ।
खेलको ६१ औं मिनेटमा लुकास भास्केजले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो । जसको फाइदा सोसीडाडले उठायो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा पार्डोले गोल गर्दै सोसीडाडलाई २ - ० को जित दिलाए ।
जितसंगै सोसीडाडले १८ खेलबाट २२ अंक जोडेको छ । र, सोसीडाड लिगको ११ औं स्थानमा उक्लिएको छ ।
पराजित रियलले भने लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । पाँचौ स्थानको रियलले ३० अंक जोडेको छ ।