धनगढी । फार वेस्ट गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार आयोजक गौरीगंगा ११ लाई पराजित गर्दै फार वेस्ट प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको हो । जसमा फार वेस्ट ३–१ ले विजयी बन्यो ।
फार वेस्टका लागि बिबेक शाही, दीपेश ओली र पवन थापाले गोल गरेका थिए । रोहित बोहोरा र शिशिर केसी पेनाल्टीमा गोल गर्न चुके ।
गौरीगंगाका सुरज गुरुङको प्रहारमात्र सफल बन्यो । निर्मल बल, हरीश भट्ट र टोप विष्ट पेनाल्टीमा असफल भए ।
फार वेस्टका गोलकिपर अमानत शेख म्यान अफ द म्याच घोषित भए ।
अब फार वेस्टले उपाधिका लागि बिहीबार स्टार सिटी ब्वाईज क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
गौरीगंगा ११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
विधागततर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार र सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष दिनेश कलेलले बताएका छन् ।