काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार इंग्ल्यान्डले इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
इंग्ल्यान्डले एसियाली राष्ट्र इरानसँग खालिफा इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा रहेको इंग्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
इंग्ल्यान्ड र इरान दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । जसका लागि दुबै टोलीले बलियो सुरुआती-११ उतार्ने छन् ।
यस खेलमा इंग्ल्यान्डका जुड बेलिङघम र इरानका मेहदी तारेमी प्लेयर्स टु वाचमा रहने छन् ।
जुड बेलिङघम (इंग्ल्यान्ड)
बेलिङघम युवा मिडफिल्डर हुन् । इरानविरुद्ध उनी इंग्ल्यान्डको मुख्य प्ले मेकरमा रहने छन् ।
बोरुसिया डर्टमण्डका उनी बल पकडमा राख्न, पास उपलब्ध गराउन र गोल गर्न माहिर छन् । त्यसैले ग्यारेथ साउथगेटले उनलाई सुरुआती-११ मा राख्ने छन् ।
इंग्ल्यान्डका लागि उनले १७ खेल खेलिसकेका छन् । तर, गोल भने गर्न सकेका छैनन् । इरानविरुद्ध उनले इंग्ल्यान्डका लागि पहिलो गोल गर्न सक्ने छन् ।
१९ वर्षीय युवा मिडफिल्डरले यस सिजन बुन्डेसलिगमा १५ खेल खेल्दा ३ गोल गरिसकेका छन् ।
मेहदी तारेमी (इरान )
स्ट्राइकर तारेमी इरानी टोलीका एक प्रमुख खेलाडी हुन् । इरानी टोली उनीमा धेरै भर पर्ने गर्दछ ।
ठूला खेलहरूमा टोली दबाबमा हुँदा तारेमीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । र, उनले ठूला राष्ट्रहरूविरुद्ध गोल समेत गरेका छन् ।
३० वर्षीय तारेमीले इरानका लागि ६० खेलमा २८ गोल गरिसकेका छन् ।
पोर्चुगिज क्लब पोर्टोबाट खेल्दै आएका तारेमी इरानी डिफेन्डरका लागि टाउको दुखाई हुनसक्छ । पोर्टोका लागि यस सिजन उनले १३ खेलमा ६ गोल गरिसकेका छन् ।