काठमाडौं । इटालीको सिरी ए मा हालैको एक नतिजामा पक्कै सबैको नजर परेको हुनु पर्छ ।
सोमबारको त्यस खेलमा जोसे मोउरिन्होको एएस रोमा युभेन्ट्सको हातबाट ४-३ ले पराजित भयो । एक समय रोमा ३-१ ले अगाडि थियो, तर त्यसपछि सात मिनेटको अन्तरमा टिमले लगातार तीन गोल खाएको थियो ।
त्यसमाथि युभेन्ट्स खेलको अन्तिम १० मिनेटमा दस खेलाडीमा सीमित थियो । यसपल्ट मोउरिन्होको नेतृत्वमा रोमाको प्रदर्शन निकै खराव रहेको छ ।
त्यसैले त पछिल्ला २१ खेलमध्ये रोमा नौमा पराजित रहेको छ । यो त रोमा जत्तिको क्लबका लागि वास्तवमै सहन गाह्रो प्रदर्शन हो । यो कति खराब प्रदर्शन हो भने यस्तै खराव खेलको शृंखला रोमाले ४३ वर्ष अगाडि खेलेको थियो ।
त्यसैले रोमा लिग तालिकाको छैटौं स्थानमा छ र अर्को सिजन उसको युरोपमा खेल्न सम्भावना झन झन कमजोर भएको छ । त्यसको अर्थ चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटनहमका प्रशिक्षक रहेका मोउरिन्हो फेरि संकटबाट घेरिएका छन् ।
रोमाका मालिकलाई पनि टिमको प्रदर्शनमा चित्त बुझेको छैन्, त्यसैले उनीहरूले भर्खरै मोउरिन्होसँग वार्ता पनि चलाएका छन् ।
हुन सक्छ, त्यस्तो दिन पनि आउने छ, जति बेला समाचार आउने छ, रोमाले मोउरिन्होलाई बर्खास्त गरेको छ ।
–मिररको सहयोगमा ।