काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले आइतबार सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्यो ।
आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले निर्णायक गोल गरे ।
पहिलो जित दर्ता गरेपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपाने खुशी देखिए । उनले महत्वपूर्ण खेलमा तीन अंक पाएको बताए ।
यस जितले आर्मी उपाधि होडमा दौडिएको उनको भनाई थियो ।
'हाम्रो लागि आज तीन अंक आवश्यक थियो । पायौं । अब उपाधिका लागि दौडिएका छौँ ,' खेलपछि न्यौपानेले भने, 'शीर्ष स्थानका टिमलाई दबाब दिईरहेका छौँ । आजको अंकले उपाधिका लागि फड्को मारेका छौँ ।'
प्रशिक्षक न्यौपानेले टिमको फरवार्ड लाइन अझै कमजोर भएको बताए ।
'अझै हाम्रो फरवार्ड लाईन कमजोर छ । स्कोर निस्किरहेको छैन । हामीले आजको खेलमा धेरै अवसर सिर्जना गरेका थियौं । जुन हिजो अस्तिको भन्दा धेरै थियो । अब अझै मिहिनेत गरेर खेल्ने छौँ । उपाधीका लागि खेल्ने छौँ,' उनले थपे, 'मुख्य कुरा आज स्ट्राइकरले गोल गरे । म खुशी छु ।'
ब्रिगेडका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले डिफेन्डरमा तालमेल नमिल्दा अंक गुमाउनु परेको बताए ।
'समग्रमाखेल ५०-५० को बरावरीमा थियो । तर, डिफेन्डरले अफ साइड सम्झेर कुर्दा हामीले गोल खान पुग्यौ,' उनले भने, 'खेलमा खेलाडीको हार्ड वर्क भने देखिएको छ । आर्मी राम्रो टिम हो । आर्मीसँग एक अंक पनि धेरै हुन्छ भने मनसयले खेलेका थियौ । तर अन्तिमा गोल खान पुग्यौ ।'