काठमाडौँ। रुविना क्षेत्री बेलबासेलाई बाहिर राख्दै कोशी प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० प्रतियोगिताका लागि टोली घोषणा गरेको छ।
कोशी प्रादेशिक क्रिकेट संघले अप्सरी बेगमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन्।
अप्सरीसँगै काजोल श्रेष्ठ, संगिता राई, सबनम राई, वन्दना राजवंशी, सानु राजवंशी, काजोल राजवंशी र एलिसा खडिया टोलीमा दोहोरिएका छन्।
टीका शाह, हिरनमाया रोय, पूर्णिमा राजवंशी, हेमावती रोय, प्रियंका रानामगर र सिर्जनाकुमारी राजवंशीले टोलीमा पहिलोपटक स्थान बनाएका छन्।
रिया शर्मा, विमला महला, लखिता राजवंशी र नमिता श्रेष्ठले भने टोलीमा स्थान बनाउन सकेका छैनन्। रुविना फ्रेन्चाइजी प्रतियोगिता खेल्न बाहिर रहेको कारण उनलाई पनि टोलीमा समेटिएको छैन।
टोलीमा फुलकुमारी राजवंशी, दिपा लिम्बु, कृतिशा धामी र खुसी राजवंशी वैकल्पिक खेलाडीको रूपमा रहेका छन्। शनिबारदेखि हुने चौथो संस्करणको प्रतियोगितामा कोशीले आइतबार सुदूरपश्चिम प्रदेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।