काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले निर्णायक गोल गरे ।
पहिलो जितका लागि आर्मीले दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
आर्मीले खेलको दोस्रो मिनेटमै ब्रिगेडको पोस्टमा आक्रमण गर्यो । तर, जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरियाको ठिक बाहिरबाट प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।
नवौं मिनेटमा ब्रिगेडका रुडी जुनियरले पेनाल्टी एरिया भन्दा बाहिरबाट प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले सहजै आफ्नो पन्जामा पारे ।
खेलको २७ औं मिनेटमा ब्रिगेडका शिशिर लेखिकको फ्रिकिक फ्रेममा पर्न सकेन ।
पहिलो हाफको इन्जुरी समयमा ब्रिगेडका शिशिरको कर्नरमा ब्रेटराण्ड ओटोउको फ्री हेडर क्रसबार भन्दामाथिबाट बाहिरियो ।
खेलको ६१ औं मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहार ब्रिगेडका मनोज राईले गोललाइनबाट हेडमार्फत क्लियर गर्दै गोल हुनबाट बचाएका थिए ।
लगत्तै ६९ औं मिनेटमा आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार ब्रिगेडका गोलकिपर पूर्ण लिम्बु चेम्जोङले बचाए ।
खेलको ८२ औं मिनेटमा आर्मीका सन्तोष तामाङको क्रसमा टेक बहादुर बुढाथोकीले सिक्स यार्ड बक्सभित्रबाट गोलको अवसर गुमाए ।
तर, खेलको ८५ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । मैदानको मध्येभागबाट सन्तोष तामाङले उपलब्ध गराएको बलमा भरतले गोल गरे । जुन खेलको निर्णायक गोल बन्यो ।
यस जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोडेको छ ।
आर्मी चौंथो स्थानमा उक्लिएको छ ।
ब्रिगेड ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच भरत खवास चुनिए ।
इमर्जिङ प्लेयर अफ दि म्याच ब्रिगेडका मनोज राई चुनिए ।