काठमाडौं । कुनै एक टिमले आफ्नो कुनै अर्को प्रतिस्पर्धीमाथि शतप्रतिशत जितको यात्रा कायम गरेको उदाहरण कमै हुन्छन् ।
आर्मीसँग भने यस्तो प्रदर्शनको इतिहास छ र यो ब्रिगेड ब्वाइज (बीबीसी) विरुद्ध रहेको छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को आइतबार दशरथ रंगशालामा हुने एक मात्र खेलमा आर्मीले बीबीसीको सामना गर्नेछ ।
सुरुआती दुई खेलमा अपराजित बीबीसीको चार अंक छ र पाँचौं स्थानमा छ ।
अर्कोतर्फ दुवै सुरुआती खेलमा बराबरी खेलेको आर्मी दुई अंकमै सीमित रहेर नवौं स्थानमा छ ।
यी दुई टिमबीच नेपाली माथिल्लो डिभिजनमा आठ खेल भएकोमा सबैमा आर्मी विजयी रहेको छ ।
लिगका पछिल्ला पाँच संस्करणमा बीबीसीले आर्मीविरुद्ध गोल गर्न पनि सकेको छैन् । वर्ष ०६८ मा आमीले बीबीसीलाई २–० ले हराएको थियो ।
यस्तै वर्ष ०७५ मा १–० र वर्ष ०७६ मा २–० ले पराजित गरेको थियो ।