काठमाडौँ। अमेरिकी युवा खेलाडी केरोल फिगुएरोआले इङ्लिस क्लब लिभरपुलमा व्यवसायिक सम्झौता गरेका छन्।
उनी १४ वर्षको उमेरमा मर्सिसाइड क्लबमा आवद्ध भएका थिए। अहिले १७ वर्ष पुगिसकेका उनले आफ्नो खेल कौशलबाट सबैलाई प्रभावित पारेका छन्। लगातार विभिन्न उमेर स्तरहरूमा गोल गर्दै आएका उनलाई लिभरपुलले विपुल गोलकर्ताको संज्ञा दिएको छ।
वाइड अट्याकरका रूपमा पनि खेल्न सक्ने फिगुएरोआले ७ गोल गर्दै अमेरिकालाई सन् २०२३ मा भएको कन्काकाफ यू–१७ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए ।
उनले गत वर्षको यू–१७ विश्वकपमा पनि खेलेका थिए । लिभरपुलको एकेडेमीमार्फत् अघि बढेपछि फिगुएरोआले हालै वुल्भरह्याम्पटनविरुद्ध आफ्नो यू–१८ टिमका लागि गोल गरेका थिए।
फिगुएरोआ विगान र होन्डुरसका पूर्वडिफेन्डर मेनोर फिगुएरोआका छोरा हुन्।