एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज (शनिबार) राति युक्रेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आज इंग्ल्यान्ड र युक्रेन जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इंग्ल्यान्डले प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
युक्रेनलाई हराएर इंग्ल्यान्ड २५ वर्षपछि पहिलो पटक युरोकपको सेमिफाइनलमा पुग्न चाहन्छ । सन् १९९६ पछि इंग्ल्यान्ड सेमिफाइनल पुग्न सकेको छैन ।
खेल अघि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेट युक्रेनलाई कमजोर टिममा नलिएको बताए ।
'युक्रेन बलियो टिम हो । उनीहरुबाट म प्रभावित छु । हामीले उनीहरुलाई खेल्ने मौका दियौं भने उनीहरुले खेल्ने छन् । उनीहरुसँग खतरनाक फरवार्ड छन्,'साउथगेट भन्छन्, 'तर, हाम्रो लागि यो सगरमाथा हैन । हामी अघि बढ्न चाहन्छौ ।'
युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो । युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।
युक्रेन भने इंग्ल्यान्डविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । त्यसका लागि टिम तयार रहेको युक्रेनी प्रशिक्षक एन्ड्री बताउछन् ।
'हामीले हाम्रो लक्ष्य पाईसक्यो । इंग्ल्यान्डविरुद्ध कठिन हुन्छ । तर, फुटबलमा जे पनि हुन्छ । हामीले तयारी गरेका छौँ । इंग्ल्यान्डलाई सरप्राइज दिन्छौं,' उनले भने ।
इंग्ल्यान्ड र युक्रेनबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पछिल्लो पटक २०१२ को युरोमा प्रतिस्पर्धा भएको थियो । त्यस खेलमा वायन रुनीको निर्णायक गोलले इंग्ल्यान्ड विजयी भएको थियो ।