एजेन्सी । युभेन्ट्सले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।
सिरि ए फुटबलको सिजनको अन्तिम दिन आईतबार राति बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो ।
च्याम्पियन्स लिगको दौडमा रहेको अर्को क्लब नापोलीले भिरोनासंग १–१ को बराबरी खेल्दा आन्द्रे पिर्लो नेतृत्वको युभेन्ट्सलाई फाईदा पुग्यो । नापोली पाँचौ स्थानमा रहेर यस सिजनको लिगको अन्त्य गर्यो । नापोलीले जित निकालेको खण्डमा युभेन्ट्स च्याम्पियन्स लिगमा छनोट हुन असफल हुने समिकरण थियो ।
एटलान्टा र युभेन्ट्सले समान ७८ अंक जोड्दै क्रमश तेस्रो र चौथो स्थानमा रहेर लिगको अन्त्य गरे । एसी मिलान ७९ अंक सहित दोस्रो स्थानमा रहेर च्याम्पियन्स लिगमा छनोट भयो । नापोलीको ७७ अंक सहित पाँचौं स्थानमा रह्यो ।
युभेन्ट्सले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । फेडरिको चिएसा, अल्भारो मोराटा र एड्रियन रोबियोटले समान एक एक गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा मोराटाले थप एक गोल गरे । बोलोग्नाकातर्फबाट रिकार्डो ओरसोलिनीले एक गोल फर्काएका थिए ।
अर्को खेलमा एसी मिलानले एटलान्टालाई हरायो । मिलान क्लबले यसअघिनै शीर्ष चारमा स्थान पक्का गरिसकेको थियो । उसले दोस्रो स्थानमा रहदै लिगको अन्त्य गर्यो ।
युभेन्ट्स सिरि ए फुटबलमा पछिल्ला ९ वर्ष च्याम्पियन बनेको थियो । सन् २०११–१२ पछि पहिलो पटक युभेन्ट्स सिरि ए फुटबलमा उपाधि विहिन बन्यो ।