एजेन्सी । लिलीले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।
फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्दै लिलीले लिग वानको उपाधि उचालेका हो ।
सिजनको अन्तिम खेलमा आईतबार राति लिलीले एन्गर्सलाई २–१ ले हरायो । लिग तालिकामा पीएसजीसंग १ अंकको अग्रता सहित उपाधि उचाल्यो । लिलीले चौथो पटक लिग वानको उपाधि उचालेको हो ।
जोनाथन डेविड र बुराक यिलमाजले गोल गर्दै पहिलो हाफमै लिलीलाई २–० को अग्रता दिलाएका थिए ।
एन्गर्सका एन्जेलो फुलगिनीले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए ।
अर्को खेलमा पीएसजीले समेत ब्रेस्टलाई २–० ले हरायो । तर पछिल्ला ९ वर्षमा दोस्रो पटक उपाधिबाट बञ्चित बन्यो ।
लिलीले ३८ खेलबाट ८३ अंक सहित उपाधि जित्यो । पीएसजी ८२ अंक सहित उपविजेता बन्यो । अन्तिम दिन मोनाकोले लेन्ससंग गोल रहित बराबरी खेल्यो । मोनाको ७८ अंक सहित लिगको तेस्रो स्थानमा रह्यो ।
अर्को खेलमा लियोनले नाईससंग ३–२ को हार ब्यहोर्यो । लियोन पराजित हुदाँ मोनाको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भयो ।