काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहिबार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् ।
पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो एलिमिनेटरको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।
बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध उत्रन लागेको हो । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे सुरु हुनेछ ।
लिग चरणको खेलमा दुवै टिमले प्रतिस्पर्धा गरेका थिए । भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो । काठमाडौंको जितमा अफ्रिकन खेलाडी मेसौके ओलुमोउले विजयी गोल गरेका थिए ।
पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौंविरुद्ध सोही नतिजा दोह¥याउने कोशिश गर्नेछ ।
उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ ।
पछिल्ला दुई खेलमा गोल गरेका अन्जन विष्टमा सबैको नजर हुनेछ । पहिलो संस्करणको एनएसएलमा फाईनल पुग्न उनै अन्जनबाट ललितपुरले ठुलो अपेक्षा गरेको छ ।
पछिल्ला चार खेलमा क्लिन सिट निकालेका अर्पण कार्कीको उत्कृष्ट प्रर्दशन काठमाडौंविरुद्ध समेत टिमलाई आवश्यक रहनेछ ।
पहिलो प्लेअफ गुमाएपनि काठमाडौं फाईनल पुग्न सकिने आत्मविश्वास राखेको छ । पहिलो खेलमा ललितपुरलाई हराउन महत्वपुर्ण भुमिका खेलेका ओलुमोउ सहितका फरवार्डबाट काठमाडौंको ठुलो अपेक्षा छ । ललितपुरविरुद्धको खेलमा म्यान अफ दी म्याच चुनिएका सन्जोक राई र इमर्जिङ प्लेयर बनेका विश्वास श्रेष्ठबाट काठमाडौंले राम्रो प्रर्दशन चाहेको छ ।
एलिमिनेटर राउण्डमा पुगेको ललितपुरले पर्याप्त आराम भने पाएको छैन । २४ घण्टा नबित्दै दोस्रो खेलमा उत्रन ललितपुरलाई गाह्रो पर्न सक्नेछ ।
ललितपुरका प्रशिक्षक राजु तामाङ जागेको लाखे टिमलाई रोक्न अब गाह्रो हुने बताउँछन् ।
‘टिम अब राम्रो बनेको छ । ललितपुुरविरुद्ध राम्रो खेल्नेछौं । अब लाखे जागेको छ ।’ बुटवल लुम्बिनीलाई हराए लगत्तै तामाङले भने ।
काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन धनगढीविरुद्ध गरेका गल्ती सुधार गर्दै फाईनल पुग्ने योजना रहेको बताउँछन् ।
‘फाईनल पुग्न अझै एक अवसर बाँकी छ । राम्रो खेल्ने प्रयास रहनेछ । अहिलेसम्म खेलाडीको प्रर्दशनबाट खुसी छु ।’ महर्जनको प्रतिक्रिया थियो ।