काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलबाट बाहिरिएपछि बुटवल लुम्बिनी एफसीका प्रशिक्षक सनोज श्रेष्ठले प्रतियोगितामा टिमको प्रदर्शन राम्रो भएको बताएका छन् ।
बुधबार भएको दोस्रो इलिमिनेटरमा ललितपुर सिटी एफसीसँग १-० ले पराजित हुँदै बुटवल प्रतियोगिताबाट बाहिरिएको थियो ।
'समग्रमा लिग राम्रै भयो । हाम्रो लक्ष्य शीर्ष चार थियो । पुग्यौ तर प्लेअफमा हार्न पुग्यौं,' उनले भने, 'खेलाडीको चोटको कारण हामीले लिगमा एकनास प्रदर्शन गर्न सकेनौं । सुरुवातमा राम्रो भयो । पछि खराब प्रदर्शन गर्यौ ।'
यस्तै प्रशिक्षक श्रेष्ठले ललितपुरले राम्रो खेलेको बताए । टिमको गल्तिको कारण गोल खानु परेको समेत उनले बताए ।
'खेलमा दुबै टोलीका लागि अवसर बराबरी थियो । हामीले अवसर सिर्जना गर्दा पनि गोल गर्न सकेनौं । आशिष लामा चिप्लिदा हामीले गोल गर्ने अवसर गुमायौं,' उनले थपे, ' गोल पनि हाम्रै गल्तिका कारण खान पुग्यौं। खेलाडी र गोलरक्षकबिच राम्रो तालमेल हुन सकेन । हामी हार्न पुग्यौं ।'