काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो प्लेअफमा अहिले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा ललितपुर र बुटवलले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
खेलको तेस्रो मिनेटमा बुटवलका लक्ष्मण रुचालको कर्नरमा अभिषेक रिजालको हेडर पोस्टको माथिबाट बाहिरिएको थियो ।
खेलको १२ औं मिनेटमा १५ यार्डबाट ललितपुरका डोना थापाको प्रहारले पोस्टको दिशा लिन सकेन् ।
१९ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्र अनमार्क रहेका बुटवलका विलियम्सको प्रहार बाहिरिएको थियो ।
खेलको २५ औं मिनेटमा ललितपुरका डोनाको पासमा नुर्लान जाहिदले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
३१ औं मिनेटमा ललितपुरका ओमोलाजा करिमको फ्रिकिकमा आशिष लामाको हेडर ललितपुरका गोलकिपर अर्पण कार्कीले मुश्किलले बचाए । लगत्तै कर्नरमा आएको बलमा विलियमको प्रहार अर्पणले सहजै आफ्नो पन्जामा पारेका थिए ।
३३ औं मिनेटमा ललितपुरका अन्जन विष्टले डिबक्स बाहिरबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
खेलको ४० औं मिनेटमा बुटवलका विलियमले वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार ललितपुरका गोलकिपर अर्पणले उत्कृष्ट बचाउ गरे । त्यहिँ रिबाउन्डमा आएको बलमा आशिष लामाको प्रहार आकाशिएको थियो ।
आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छ ।
पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले इलिमिनेटर खेल्ने मौका पाएको हो ।
लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।
यस खेलको विजेताले फाइनल प्रवेशका लागि इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।