काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छ ।
पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले इलिमिनेटर खेल्ने मौका पाएको हो ।
लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।
यस खेलको विजेताले फाइनल प्रवेशका लागि इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।
लिग चरणको भेटमा बुटवलविरुद्ध ललितपुरले बाजी मारेको थियो । ललितपुरका लागि अजरबैजानका खेलाडी नुर्लान जाहिदले निर्णायक गोल गरेका थिए ।
त्यसैले प्लेअफमा बुटवल ललितपुरविरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ । त्यसका लागि बुटवल तयार समेत रहेको छ ।
बुटवलले अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै 'हेड टु हेड'मा पोखरालाई पछाडी पारेर शीर्ष चारमा स्थान बनाएको थियो ।
यता, पछिल्ला दुई खेलमा शतप्रतिशत जित निकाल्दै प्लेअफमा स्थान बनाएको ललितपुर बुटवलविरुद्ध जित निकाल्दै लगातार तेस्रो जित निकाल्ने दाउँमा हुनेछ ।
बुटवलविरुद्ध ललितपुरलाई अन्जन सहित, एरिक बिष्ट, विमल राना, मिक्छेन तामाङ, निरज बस्नेत, प्रवेश कुँवर, विदेशी खेलाडी नुर्लान जाहिद र पिटर सेगुन जस्ता खेलाडीको साथ रहनेछ ।
बुटवललाई समेत युवा र अनुभवी खेलाडीको साथ रहनेछ । ललितपुरविरुद्ध बुटवल तीन युवा स्ट्राइकर आशिष लामा, सुमन लामा र अभिषेक रिजाल अट्याक भुमिका रहनेछन् । लक्ष्मण रुचाल, विलिम, मान बहादुर परियार, सेसेहाङ आङदेम्बे, विशाल श्रेष्ठ र विराज महर्जनले टोलीलाई साथ दिनेछन् ।
दोस्रो प्लेअफमा ललितपुरका मार्की तथा कप्तान अन्जन विष्ट र बुटवल लुम्बिनीका युवा स्ट्राइकर अभिषेक रिजाल प्रभावशाली देखिन सक्छन् । उनीहरु खेलको प्लेयर्स टु वाचका रुपमा रहेका छन् ।
अन्जन बिष्ट (ललितपुर सिटी एफसी )
अन्जन बिष्ट ललितपुर सिटी एफसीका मार्की खेलाडी तथा कप्तान हुन् । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका अन्जनले जारी लिगमा दुई गोल समेत गरेका छन् । मिडलाइन तथा अट्याकर दुबै भूमिका सहजै निर्वाह गर्न सक्ने अन्जन जारी लिगमा भने मिड तथा विंगरको भूमिकामा छन् । अन्तिम खेलमा विराटनगरविरुद्ध प्रभावशाली जित निकाल्ने क्रममा उनले दुई गोल गरेका थिए । यस्तै गोलका लागि एक पास उपलब्ध गराएका थिए ।
लगातार दोस्रो जित निकाल्दा दुबै खेलमा अन्जनको भूमिका महत्वपूर्ण रहेको थियो । स्ट्राइकरलाई छिटो पास उपलब्ध गराउने, डिबक्सबाहिरबाट सटिक प्रहार गर्ने, बल सहजै नियन्त्रणमा लिएर होल्ड गर्ने उनको खुबी हो । जसका कारण बुटबल लुम्बिनीलाई अन्जन भारी पर्न सक्छन् । अन्जनसँग घरेलु लिग तथा राष्ट्रिय अन्तराष्ट्रिय खेलको अनुभव रहेको छ ।
अभिषेक रिजाल (बुटवल लुम्बिनी एफसी)
जारी लिगमा अभिषेकले मात्र दुई खेल खेलेका छन् । टोलीका विदेशी खेलाडी खेल्न नसक्ने भएपछि अभिषेकले मौका पाएका हुन् । दुबै खेल पूरा समय खेलेका उनले गोल भने गर्न सकेका छैनन् । नेपाल राष्ट्रिय फुटबल टोलीका युवा खेलाडी अभिषेक ललितपुरविरुद्ध भने मैदानमा छाउन सक्छन् । उनलाई अग्रपंक्तिमा युवा खेलाडी सुमन लामा र आशिष लामाको साथ रहनेछ ।
नेपालको युवा टोली र राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको अभिषेकलाई भारतीय आईलिग खेलेको अनुभव छ । जसको फाइदा उनले दोस्रो प्लेअफमा लिन सक्छन् । साथै उनलाई एक पटक घरेलु लिगमा आफ्नो प्रभाव छाड्नु छ र टोलीको फिनिसिङ समस्यालाई दूर गराउनु चुनौती हुनेछ ।
यस्तै अभिषेकसँगै बुटवल लुम्बिनीलाई ललितपुर सिटीको बलियो रक्षापंक्तिलाई चिर्नु चुनौती रहनेछ ।