काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छ ।
पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले इलिमिनेटर खेल्ने मौका पाएको हो ।
लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।
यस खेलको विजेताले फाइनल प्रवेशका लागि इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।
लिग चरणको भेटमा बुटवलविरुद्ध ललितपुरले बाजी मारेको थियो । ललितपुरका लागि अजरबैजानका खेलाडी नुर्लान जाहिदले निर्णायक गोल गरेका थिए ।
त्यसैले प्लेअफमा बुटवल ललितपुरविरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ । त्यसका लागि बुटवल तयार समेत रहेको छ ।
‘तयारी राम्रो छ । ललितपुरविरुद्ध जित्नको लागि खेल्छौं,’ गोलकिपर प्रशिक्षक समेत रहेको उज्ज्वल मानन्धरले भने ।
बुटवलका मार्की खेलाडी हुन् गोलरक्षक विशाल श्रेष्ठ । तर, पछिल्लो धनगढीविरुद्धको खेलमा भने विराज महर्जनले टोलीको कप्तानी सम्हालेका थिए ।
प्लेअफमा समेत विराजले नै टोलीको कप्तानी समाल्नेछन् ।
‘खेल निकैनै प्रतिस्पर्धात्मक हुन्छ । पछिल्लो समय हाम्रो स्कोर निस्किरहेको छैन । त्यसलाई जोड गरेर गोल निकाल्नमै केन्द्रित हुन्छौं,’ राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका विराज भन्छन् ।
ललितपुरविरुद्ध मैदान उत्रदै गर्दा बुटवललाई कुनै पनि खेलाडीको चोटले सताउने छैन् ।
पहिलो खेलमा पोखरा थण्डर्सलाई पराजित गरेको बुटवलले अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै 'हेड टु हेड'मा पोखरालाई पछाडी पारेर शीर्ष चारमा स्थान बनाएको थियो ।
यता, पछिल्ला दुई खेलमा शतप्रतिशत जित निकाल्दै प्लेअफमा स्थान बनाएको ललितपुर बुटवलविरुद्ध जित निकाल्दै लगातार तेस्रो जित निकाल्ने दाउँमा हुनेछ ।
मुख्य प्रशिक्षक प्रदिप हुँमागाईको बर्खास्तीसँगै टोलीको प्रशिक्षण सहायक प्रशिक्षक राजु तामाङले गरिरहेका छन् । उनले जागेको लाखेलाई रोक्न गाह्रो हुने प्रतिक्रिया दिँदै बुटवलविरुद्ध जितका लागि खेल्ने बताएका छन् ।
‘खेलाडी उत्साहित छन् । गाह्रो अवस्थाबाट माथि उठेका छौं । खेलाडीमा आत्माविश्वास छ । जित्नकै लागि खेल्छौं,’ पूर्व राष्ट्रिय खेलाडी तामाङले भने ।
ललितपुरका मार्की खेलाडी तथा कप्तान अन्जन विष्टले अन्तिम दुई खेलको जितले आत्माविश्वास बढेको र सोहि नतिजा दिलाउन खेल्ने बताए ।
‘लगातार दुई खेलले विश्वास दिलाएको छ । खेलाडी खेल्न तयार छन् । हामी जित्नको लागि खेल्छौं,’ अन्जन भन्छन् ।
बुटवलविरुद्ध ललितपुरलाई अन्जन सहित, एरिक बिष्ट, विमल राना, मिक्छेन तामाङ, निरज बस्नेत, प्रवेश कुँवर, विदेशी खेलाडी नुर्लान जाहिद र पिटर सेगुन जस्ता खेलाडीको साथ रहनेछ ।
बुटवललाई समेत युवा र अनुभवी खेलाडीको साथ रहनेछ । ललितपुरविरुद्ध बुटवल तीन युवा स्ट्राइकर आशिष लामा, सुमन लामा र अभिषेक रिजाल अट्याक भुमिका रहनेछन् । यस्तै लक्ष्मण रुचाल, विलिम, मान बहादुर परियार, सेसेहाङ आङदेम्बे, विशाल श्रेष्ठ र विराज महर्जनले टोलीलाई साथ दिनेछन् ।
लिग चरणमा ललितपुरको नतिजा -
काठमाडौंविरुद्ध ललितपुर सिटी १–०
ललितपुर सिटीविरुद्ध चितवन १–१
ललितपुरसिटीविरुद्ध धनगढी १–१
पोखराविरुद्ध ललितपुर सिटी ०–०
ललितपुर सिटीविरुद्ध बुटवल लुम्बिनी १–०
विराटनगरविरुद्ध ललितपुरसिटी ०–४
बुटवलको नतिजा -
पोखराविरुद्ध बुटवल लुम्बिनी ०–२
चितवनविरुद्ध बुटवल लुम्बिनी २–२
बुटवल लुम्बिनीविरुद्ध विराटनगर २–२
बुटवल लुम्बिनीविरुद्ध काठमाडौं ०–१
ललितपुर सिटीविरुद्ध बुटवल लुम्बिनी १–०
धनगढीविरुद्ध बुटवल लुम्बिनी ०–१