काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।
फाइनल पुगेपछि धनगढीका मुख्य प्रशिक्षक तोपे फुजा खुसी देखिए । उनले डिफेन्डरलाई परिक्षण गर्दा सफल भएको बताए ।
'आजको खेल राम्रो भयो। खेलाडीले चोट बोकेपनि डिफेन्डरलाई पनि परिक्षण गर्यौं । राम्रै भयो,' उनले भने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे । काठमाडौंका तेज तामाङले एक गोल फर्काएका थिए ।
प्रशिक्षक फुजाले विपक्षी डिफेन्डरलाई दबाब दिन चोटको बाबजुत ओलावाले आफिजलाई खेलाएको बताए ।
'चोट बोकेपनि ओलावालेलाई खेलाउनुको मुख्य कारण विपक्षी डिफेन्डर डराउन भन्ने पनि हो । खेल्नै नसक्ने भएपछि हामीले एयर बल दंगालले खेल्न सक्छ भने फरवार्डमा खेलाएका थियौं । सफल पनि भयौ,' फुजाले थपे ।
काठमाडौंविरुद्ध बराबरी गोल फर्काउन सफल पुजन उपरकोटीले टिमलाई जित दिलाउन पाउँदा खुसी लागेको बताए ।
'आज कठिन खेल थियो । १-० ले पछि परेको अवस्थामा गोल गर्न पाउँदा खुसी छु । टिमलाई योगदान दिन पाए,' उनले भने।