काठमाडौं । काठमाडौं रेजर्स शीर्ष स्थानमा रहदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा रहदै प्ले अफमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे ।
चितवनका राजिब लोप्चनले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । विश्वास उदासको लामो पासमा चितवनका दुई डिफेन्डरलाई बिट गर्दै मेसौकेले गोल गरेका हुन् ।
खेलको ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २-० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका हुन् ।
३८ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको क्रसमा सुनिल श्रेष्ठको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।
३९ औं मिनेटमा काठमाडौंका मेसौकेले बक्स बाहिरबाट प्रहार गरेको बल आकाशिएको थियो ।
खेलको ४० औं मिनेटमा राजिब लोप्चनले गोल गर्दै चितवनलाई २-१ को स्थितिमा ल्याए । सुनिल श्रेष्ठको प्रहार काठमाडौंका गोलकिपर विनायक श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा राजिबले गोल गरेका हुन् । तर, राजिबको गोल सान्त्वना गोलको रुपमा रह्यो ।
खेलको ४४ औं मिनेटमा काठमाडौंका विश्वास श्रेष्ठले करिब २५ यार्डमा प्रहार गरेको फ्रिकिक पोस्ट बारमा लाग्दै बाहिरिएको थियो । चितवनका राजिबले तेज तामाङलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको थियो ।
खेलको ५५ औं मिनेटमा जर्ज प्रिन्सको पासमा चितवनका राजिबको हेडर बाहिरिएको थियो ।
खेलको ८१ औं मिनेटमा काठमाडौंका प्रिजेन तामाङले गोलकिपरसँगको वान भर्सेस वानमा गोलको अवसर गुमाए । प्रिजेनको कडा प्रहार चितवनका गोलकिपर रोमन रसाइलीको टाउको लाग्दै बाहिरिएको थियो ।
यस्तै ८४ औं मिनेटमा पनि प्रिजेन गोल गर्न चुके । पेनाल्टी क्षेत्रभित्र रहेका प्रिजेनको प्रहार चितवनका गोलकिपर रोमनले उत्कृष्ट बचाउ गरे ।
खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास उदास चुनिए । उनले १० हजार प्राप्त गरे ।
जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो ।
अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ ।
यस्तै अर्को प्ले अफमा ललितपुर सिटीले बुधबार बुटवल एफसीसँग खेल्नेछ ।
काठमाडौं र धनगढीबीचको खेल मंगलबार हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ ।
यस खेलमा पराजित हुने टोलीले बिहीबार ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नेछ ।
धनगढीले ६ खेलमा १० अंक जोडेको छ ।
चितवनले भने पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ । चितवनले ६ खेलमा २ अंक जोड्यो ।