काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा अहिले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा बुटवलविरुद्ध ललितपुरले १-० को अग्रता बनाएको छ ।
बुटवलविरुद्ध सुरुवातबाटै ललितपुरले आक्रमक खेल पस्किएको थियो ।
खेलको पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदले हेडमार्फत गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाएका थिए।
कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले डाइभ हेडमार्फत गोल गरे । मैदानको बायाँ भागबाट डिफेन्डर निरज बस्नेतको बाईसाइकल प्रहारमा अन्जनले नुर्लानलाई हेडिङ पास उपलब्ध गराएका थिए ।
खेलको ३० औं मिनेटमा नुर्लानको पासमा अन्जन विष्टको हेडर पोस्टको नजिकैबाट बाहिरिएको थियो ।
यस्तै खेलको ३२ औं मिनेटमा ललितपुरका भिलिम पोसिन्कोभिचले गोलको सुनौलो अवसर खेर फाले । अन्जनको पासमा पेनाल्टी बक्स भित्रबाट भिलिमले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
३६ औं मिनेटमा बुटवलका अभिषेक रिजालको लामो क्रसमा लक्ष्मण रुचालको प्रहार बाहिरियो ।
पहिलो हाफको इन्जुरी समयमा बक्स बाहिरबाट बुटवलका सुमन लामाको प्रहार आकाशिएको थियो ।
त्यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा ललितपुरका विमल रानाको प्रहारलाई बुटवलका गोलकिपर विशालले क्लियर गर्न खोजेको बल पोलमा लाग्दै फर्केको बलमा कप्तान अन्जनले गोल गरेका थिए । तर, लाइन रेफ्रीले अफसाइडको इशारा गरेपछि ललितपुर अग्रता दोब्बर बनाउन चुकेको थियो ।
आज ललितपुर जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । बुटवल पनि जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ ।
बुटवल ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ललितपुरलाई हराएमा बुटवल दोस्रो स्थानमा उक्लने छ ।