स्याङ्जा। बाल विद्यालाई टाई ब्रेकरमा पराजित गर्दै पर्वत इङ्लिस बोर्डिङ स्कुल आठौँ अरहन्त मेमोरियल कपको उपाधि जितेको छ।
वालिङ खेल मैदानमा मंगलबार सम्पन्न फाइनलमा टाई ब्रेकरमा बाल विद्यालाई ५-३ गोल अन्तरले पराजित गर्दै पर्वतले उपाधि जितेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि उपाधिको छनिफानो पेनाल्टी सुटआउटमार्फत् गरिएको हो।
पर्वतका लागि मुस्कान मल्ल, प्रशान्त गुरुङ, रेमन थापा, सृजन आले र श्याम परियारले गोल गरे। बाल विद्याका आयुष चापागाईले प्रहार मिस गर्दा शमिल थापा, निशान थापा र शिशिरबहादुर थापाले गोल गरे।
उपाधि जितेको पर्वतले ५० हजार रुपैयाँ प्राप्त गर्यो। बाल विद्याले भने २५ हजारमा चित्त बुझायो। फाइनल खेलको म्यान अफ दी म्याच मुस्कान मल्ल घोषित भए।
फेयर प्ले अवार्ड भुम्रे मा.विले प्राप्त गर्यो। उत्कृष्ट गोलरक्षक बाल विद्याका देवबहादुर परियार र उत्कृष्ट डिफेन्डर बाल विद्याकै आयुष चापागाई घोषित भए। उत्कृष्ट मिडफिल्डर प्रशान्त गुरुङ, प्लेयर अफ दी टुर्नामेन्ट श्याम परियार, उत्कृष्ट फरवार्ड रेमन थापा र उत्कृष्ट प्रशिक्षक अविनाश बस्याल भए। उनीहरू पर्वतका हुन्।