काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा अहिले धनगढी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा धनगढी र पोखराले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा धनगढीविरुद्ध पोखराले एकतर्फी खेल पस्किएको थियो । तर,पोखराले गोल गर्न सकेनन् ।
खेलको २२ औं मिनेटमा धनगढीका ओलावाले अफिजले गोलको अवसर गुमाए । विशाल राईको फ्रिकिकमा पोखराका डिफेन्डरले क्लियर गर्न नसक्दा प्राप्त बलमा ओलावालेको फितलो प्रहार डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो ।
खेलको २६ औं मिनेटमा पोखराका मौसा अब्बाले गोलको अवसर गुमाए । डिबक्स भित्रबाट उनले प्रहार गरेको बल धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।
खेलको ४० औं मिनेटमा पोखराले अर्को मौका गुमायो । मौसाको फ्रिकिकमा पोखराका रबि पासवानको प्रहार धनगढीका गोलकिपर किरणले बचाए । धनगढीका डिफेन्डरले त्यहिँ बल क्लियर गर्न नसक्दा नवयुग श्रेष्ठले कन्ट्रोल गर्दै प्रहार गरेको बल दिनेश राजवंशीले रोके । रिबाउन्डमा नवयुगले नै प्रहार गरेको बललाई गोलरक्षक किरणले क्लियर गरेका थिए ।
आज धनगढी तेस्रो जित निकाल्ने योजनामा रहेको छ । पोखरालाई पराजित गर्न सकेमा धनगढी शीर्ष स्थानमा उक्लने छ ।
धनगढी ४ खेलमा ७ अंक जोडेको दोस्रो स्थानमा रहेको छ । पोखरासँग बराबरीको नतिजाले समेत धनगढी शीर्ष स्थानमा उक्लने छ ।
पोखरा पनि धनगढीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।धनगढीलाई हराएको खण्डमा पोखरा शीर्ष स्थानमा उक्लने छ ।
पोखरा ४ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।