काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् ।
इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कोरोना भाईरसको महामारीको कारण इन्डोनेसियाको लिग वान स्थगित भएपछि रोहित स्वदेश फर्किएका थिए ।
पर्सिजा जकार्ताबाट खेलिरहेका रोहित मलेसियाको राजधानी क्वालालम्पुर हुँदै इन्डोनेसिया पुग्ने छन् ।
रोहित जाकर्ता पुगेपछि पनि १५ दिन क्वारेन्टिनमा बस्नेछन् । क्वारेन्टिन सकिएपछि उनी जकार्ताको प्रशिक्षणमा सामेल हुने छन् ।
कोरोना नियन्त्रण हुँदै गएपछि जकार्ताले टिमको प्रशिक्षण थालिसकेको छ । कोरोना परिक्षणपछि गत महिनाबाटै स्थानिय खेलाडी र स्टाफलाई समेटेर जकार्ताले प्रशिक्षण थालेको हो ।
कोरोनाको कारण रोकिएको लिग पुन: सुरु हुने टुंगो भने लागेको छैन ।
रोहितको सनसनीपुर्ण प्रदशर्नसँगै जकार्ताले सन् २०१८ मा लिगको उपाधि समेत हात पारेको थियो । त्यस सिजन रोहित सवोक्रिष्ट खेलाडी घोषित भएका थिए ।