एजेन्सी । बार्सिलोनाका लिजेण्ड कार्लोस पुयोलले अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले ३८ वर्षको उमेरसम्म फुटबल खेल्न सक्ने दाबी गरेका छन् ।
बार्सिलोनाका पूर्व डिफेन्डर समेत रहेका पुयोलले स्ट्राइकर मेस्सीसँग ३८ वर्षसम्म खेल्न सक्ने क्षमता रहेको दाबी गरेका हुन् ।
‘मेस्सी ३२ वर्षका भए । जुन खेलाडीले आफुलाई ख्याल राख्न सक्छ मेस्सीले जस्तै ३८ वर्षसम्म खेल्न सक्छन्,’ मार्कासँग पुयोलले भने ।
मेस्सी आगामी जुनबाट ३३ वर्षका हुनेछन् । यस सिजन मेस्सीले ला लिगाको १९ खेलमा १४ गोल र १२ गोलका लागि पास उपलब्ध गरिएका छन् ।
मेस्सीले भने आफु कति वर्षसम्म खेल्ने भन्ने कुरा आफ्नो शारीरिक अवस्थामा निर्भर हुने बताए ।
‘मलाई आशा छ यसमा भगवानको इच्छा होस्, कि म धेरै वर्षसम्म खेलिरहुँ । म अहिले ३२ वर्षको भए र यो सिजनको अन्त्यमा ३३ वर्षको हुनेछु,' मेस्सीले भनेका छन्, 'त्यसैले म भन्छु सबैकुरा आफ्नो शारीरिक अवस्थामा निर्भर हुन्छ ।’
मेस्सीले अहिले आफ्नो शारीरिक अवस्थामा ठिक रहेको समेत बताए ।
‘शारीरिक तथा व्यक्तिगत रुपमा अहिले पहिले भन्दा राम्रो महसुस गरिरहेको छु र आशा छ म लामो समयसम्म राम्रो महसुस गर्न सक्नेछु,' मेस्सीले थपे ।