काठमाडौं । उपाधि होडबाट बाहिरिसकेको थ्री स्टार शीर्ष ६ भित्र पर्ने लक्ष्य सहित शुक्रबार साविकको उपविजेता संकटा क्लबसँग खेल्दैछ ।
लिगको एघारौं चरणको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छन् ।
संकटा पाचौ र थ्री स्टार छैठौ जितको खोजीमा छ ।
राष्ट्रिय टिमका सदस्य बिक्रम लामाको कप्तानीमा रहेको थ्री स्टार संकटालाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिन चाहन्छ । संकटाविरुद्धको जितले थ्री स्टार साविक विजेता मनाङलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ ।
“संकटाविरुद्धको जितले शीर्ष ६ सुरक्षित हुन्छ । शीर्ष ६ को स्थान सुरक्षित गर्दै राम्रो स्थान बनाउन ध्यान दिन्छौं ।” थ्रीस्टारका प्रशिक्षक मेघराज केसी भन्छन् ।
संकटाविरुद्ध थ्रीस्टारलाई कुनै खेलाडीको कमी हुने छैन । उसले चार विदेशी खेलाडी मैदानमा प्रयोग गर्न सक्नेछ ।
संकटा पनि थ्री स्टारलाई पराजित गर्दै राष्ट्रिय लिगको लागि आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।
“थ्रीस्टार बलियो टिम हो । हल्का लिन्नौं । थ्री स्टारको जितले शीर्ष ६ मा रहन धेरै मद्धत पुग्छ । त्यसैका लागि लाग्छौं ।” संकटा क्लबका प्रशिक्षक विजय महर्जन भन्छन् ।
थ्री स्टारविरुद्ध संकटाले डिफेन्डर रोशन पहारीलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डका कारण मैदान बाहिर हुनेछन् ।
यता, खराव प्रदर्शनका कारण भारतीय मिडफिल्डर प्रल्हाद रोयलाई संकटाले रिलिज गरिसकेको छ । शुक्रबार संकटाले तीन विदेशी खेलाडी मैदान उतार्ने छ ।