काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुदैछ ।
पहिलो खेलमा गत सिजनको उपविजेता संकटा र उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार भिड्नेछन् । थ्री स्टार १७ अंक सहित चौथो र संकटा १५ अक सहित लिगको पाँचौ स्थानमा छ ।
दुवै टिम शीर्ष ६ मा रहँदै राष्ट्रिय लिगका लागि आफुलाई तयार पार्न चाहन्छन् ।
खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा पुलिस र ब्रिगेड भिड्ने छन् । पुलिस शीर्ष ६ मा आफुलाई सुरक्षित गर्ने दाउमा हुनेछ भने ब्रिगेड रेलिगेशन जोनबाट आफुलाई सुरक्षित राख्न चाहन्छ ।
पुलिस १४ अंक सहित आठौं र ब्रिगेड ८ अंक सहित ११ औ स्थानमा छ ।
शीर्ष ६ को भिडन्त
उपाधि होडबाट बाहिरिसकेको थ्री स्टार शीर्ष ६ भित्र पर्ने लक्ष्य सहित शुक्रबार साविकको उपविजेता संकटा क्लबसँग खेल्दैछ ।
लिगको एघारौं चरणको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छन् ।
संकटा पाचौ र थ्री स्टार छैठौ जितको खोजीमा छ ।
राष्ट्रिय टिमका सदस्य बिक्रम लामाको कप्तानीमा रहेको थ्री स्टार संकटालाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिन चाहन्छ । संकटाविरुद्धको जितले थ्री स्टार साविक विजेता मनाङलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ ।
“संकटाविरुद्धको जितले शीर्ष ६ सुरक्षित हुन्छ । शीर्ष ६ को स्थान सुरक्षित गर्दै राम्रो स्थान बनाउन ध्यान दिन्छौं ।” थ्रीस्टारका प्रशिक्षक मेघराज केसी भन्छन् ।
संकटाविरुद्ध थ्रीस्टारलाई कुनै खेलाडीको कमी हुने छैन । उसले चार विदेशी खेलाडी मैदानमा प्रयोग गर्न सक्नेछ ।
संकटा पनि थ्री स्टारलाई पराजित गर्दै राष्ट्रिय लिगको लागि आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।
“थ्रीस्टार बलियो टिम हो । हल्का लिन्नौं । थ्री स्टारको जितले शीर्ष ६ मा रहन धेरै मद्धत पुग्छ । त्यसैका लागि लाग्छौं ।” संकटा क्लबका प्रशिक्षक विजय महर्जन भन्छन् ।
थ्री स्टारविरुद्ध संकटाले डिफेन्डर रोशन पहारीलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डका कारण मैदान बाहिर हुनेछन् ।
यता, खराव प्रदर्शनका कारण भारतीय मिडफिल्डर प्रल्हाद रोयलाई संकटाले रिलिज गरिसकेको छ । शुक्रबार संकटाले तीन विदेशी खेलाडी मैदान उतार्ने छ ।
पुलिसविरुद्ध अनिल बाहिर
लिगको ७४ औं खेलमा विभागीय पुलिस र ब्रिगेड ब्वाईज क्लब भिड्दैछन् । लिगको एघारौ चरणको चौथो खेलमा दुई टिम आमने सामने हुन लागेका हुन् ।
सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिनको ३ बजे सुरु हुनेछ ।
लिगको शीर्ष ६ मा सुरक्षित पार्ने दाउमा रहेको पुलिस र रेलिगेशन क्षेत्रबाट सुरक्षित स्थानको खोजीमा रहेको ब्रिगेड ब्वाईज भिड्न लागेका हुन् ।
लिगमा तीन खेल खेल्न बाँकी रहेको अवस्थामा पुलिस पाँचौ र ब्रिगेड तेस्रो जितको खोजीमा छ ।
व्रिगेडलाई पराजित गरेमा पुलिसको शीर्ष ६ को यात्रा सहज हुनेछ ।
“आर्मीविरुद्धको खेलले खेलाडीमा मनोबल बढेको छ । सुपर सिक्सको यात्रालाई सहज पार्न तयार छौं ।” पुलिस क्लबका पुर्व खेलाडी समेत रहेका प्रशिक्षक अनन्त राज थापा भन्छन् ।
ब्रिगेडविरुद्ध पुलिसले आफ्नो डिफेन्डर प्रवेश कुँवरलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डका कारण टिममा हुने छैनन् ।
यस्तै पुलिसले चोटका कारण रविन श्रेष्ठ र सुमन लामालाई गुमाउने छ । लिगमा सुमनले ४ गोल गरेका छन् ।
यता, ब्रिगेड पनि पुलिसलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट टाढिन चाहन्छ । रेलिगेशन क्षेत्रबाट बच्न उसलाई जितको बिकल्प छैन ।
“रेलिगेशन क्षेत्रबाट टाढिन भएपनि पुलिसलाई जित्नुपर्ने छ । खेलाडी तयार छन् ।” ब्रिगेड व्बाईज क्लबका ब्यवस्थापक अर्विन गुरुङ भन्छन् ।
शुक्रबार पुलिसविरुद्ध ब्रिगेडले आफ्ना कप्तान अनिल गुरुङलाई गुमाउने छ । एनआरटीसँग पेनाल्टीमा चुकेका उनी दोहोरो पँहेलो कार्डका कारण टिम बाहिर हुनेछन् । ब्रिगेडले चारै जना विदेशी खेलाडीलाई मैदानमा प्रयोग गर्न पाउनेछ ।
पुलिसविरुद्धको जितले ब्रिगेड रेलिगेशनबाट मुक्त हुनेछ ।