एजेन्सी । उरुग्वेका फरवार्ड ईडिन्सन काभानीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्न चाहेको बताएका छन् ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडको प्रस्तावसंगै काभानीले पीएसजीलाई क्लब छाड्न चाहेको बताएका हुन् ।
३२ बर्षका फरवार्डले चालू सिजनमा थोरै मात्र अवसर पाएका हुन् । उनले मात्र १४ खेलमा पहिलो रोजाईमा रहँदै खेलको सुरुवात गरेका छन् । मौरो ईकार्डी लोनमा ईन्टर मिलानबाट पीएसजी आएपछि काभानीलाई टिममा पर्न समस्या हुदै आएको छ ।
'यो सत्य हो, उनले क्लब छाड्ने बिषयमा सोधेका छन् ।' क्लबका स्पोर्टिङ डाईरेक्टर लियोनार्दोले भनेका छन् ।
'हामी बिषयको अध्ययन गरिरहेका छौ ।' उनले थपे, 'यो पनि सत्य हो, उनलाई एट्लेटिको मड्रिडले प्रस्ताव गरेको छ ।'
काभानीले सन् २०१३ मा फ्रान्सेली क्लबसंग जोडिएका थिए । उनी क्लबमा कीर्तिमानी १ सय ९८ गोल गरेका छन् ।
उनी पछिल्लो समय पहिलो रोजाईमा पर्न छाडेका छन् ।
लियोनार्दोले भने, 'हामी उनलाई सुन्न चाहन्छौ । कारण, खेलाडीप्रति हाम्रो ठुलो सम्मान छ ।'
प्रशिक्षक थोमस टुचेल काभानीलाई क्लबमै राख्न चाहन्छन् ।
'हामीले यस बिषयमा धेरै भनेका छौ । म यसलाई दोहर्याउन चाहन्न ।' टुचेलले भने, 'यदी लक्ष्य प्राप्तीमा अघि बढ्दै धेरै उपाधि जित्ने हो भने काभानीसंग सहज हुनेछ ।'