काठमाडौं । क्विक्स कप अन्तर विद्यालय छात्र–छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल चरणका खेल आईतबारबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै फाइनल चरणका खेलहरु मंसिर ८ गतेबाट सुरु हुने जनाएको छ ।
क्विक्स कप अन्तर्गत पहिलो चरण र दोस्रो चरणका खेल सकिएसँगै फाइनल चरणका खेल हुन लागेको हो ।
फाइनल चरणका लागि पुरुषतर्फ १६ विद्यालय तथा महिलातर्फ १२ विद्यालय छनोट भएका छन् ।
फाइनल चरणको सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
अब मंसिर ८ बाट १९ गतेसम्म पुरुषको प्रतिस्पर्धा हुनेछ । त्यस्तै मंसिर २० बाट २७ सम्म महिला टिमको खेल हुनेछ ।
एन्फाले जिल्ला, प्रदेश हुँदै केन्द्रमा फाँइनल चरणका खेल खेलाउन लागेको हो । एन्फाले पहिलो चरणको जिल्ला छनोटमा पुरुषतर्फ १११३ स्कुल र महिलातर्फ २३३ स्कुललाई प्रतिस्पर्धा गराएको थियो ।
यस्तै प्रदेशतर्फ ५३ स्कुल र महिलातर्फ २६ स्कुलको सहभागीता रहेको थियो । जसबाट अन्तिम चरणको लागि पुरुषतर्फ १६ विद्यालय र महिलातर्फ १२ विद्यालय छनोट भएका हुन् ।
पुरुषतर्फका १६ विद्यालयलाई ४ समूहमा विभाजन गरिएको छ भने महिलातर्फको १२ विद्यालयलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टिम नक आउट चरणमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार तथा चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।