काठमाडौं । नेपाली यू-१८ फुटबल टिममा मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले पाएको मौका सदुपयोग गर्न नसक्दा यू-१८ साफ च्याम्पियनसिपको पहिलो खेलमा बराबरी खेल्नु परेको बताएका छन् ।
एपीएफको हलचोक मैदानमा शुक्रबार माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेपछि श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसकेको बताएका हुन् ।
'पाएको राम्रो बलहरु सदुपयोग भएन । माल्दिभ्सको गोलरक्षक र डिफेन्सले धेरै राम्रो गर्यो,' पोष्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले भने,'खेलाडीले भनेको पहिलो हाफमा भनेको जस्तो खेल्न सकेनन् । सुरुमै गोल खादा तालमेल मिलेन ।'
पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । खेलको १३ औं मिनेटमा माल्दिभ्सका कप्तान हसन नजिबले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा मनिष डाँगीले हेड गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए ।
यस्तै प्रशिक्षक श्रेष्ठले डेब्यु खेलाडी मनिषले सोचेको जस्तो प्रदर्शन गर्न नसकेको बताए । नेपालबाट पहिलो खेल खेलेको कारण मनिषलाई गार्हो भएको प्रशिक्षक श्रेष्ठको भनाई थियो ।
' मनिषको सरुवाती खेल भएर होला उ आत्तिएर खेल्यो । त्यसले गर्दा पहिलो हाफमा उसले राम्रो खेल्न सकेन । दोस्रो हाफमा सम्झाएपछि उसले राम्रो गर्यो,' प्रशिक्षक श्रेष्ठले थपे ।
यस्तै माल्दिभ्सका प्रशिक्षक अहमेद मोहमदले राम्रो टिमसँग उत्कृष्ट खेल खेल्न नसकेको बताए ।
'नेपाल राम्रो टिम हो । हामी पुरै दबाबमा खेल्नुपर्याे । हामीले आफ्नो खेल खेल्न सकेनौं,' प्रशिक्षक अहमेदले भने, 'हामीलाई ग्राउण्डको पनि साथ रहेन । हामीले टर्फमा तयारी गरेका थियौ । कतारमा मात्रै थोरै समय घासे मैदानमा तयारी गरेका थियौं । त्यसैले हाम्रो खेलाडीहरु धेरै लड्न पुगे ।'
यस्तै उनले टिमलाई भाग्यले पनि साथ दिएको बताए । नेपालसँगको अंकले सेमिफाइनल सहज भएको समेत उनले बताए ।