काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ ।
आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको हो ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक/एक गोल गरिन् ।
खेलको तेस्रो मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् । खेलको १५ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् ।
सुरुवाती १५ मिनेटमै २-० ले पछि परेको किर्गीस्तानले दुई मिनेटभित्र दुई गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । खेलको १९ औं बोरोबेकोभा अल्झनले गोल गर्दै खेल २-१ मा ल्याईन् । २२ औं मिनेटमा घरेलु टोलीकी सास्केभा अज्पेरीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याईन् ।
तर, खेलको २५ औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई ३–२ गोलको अग्रता दिलाईन् । उनले डिबक्स भित्रबाट हिरा भुजेलले दिएको पास सदुपयोग गरिन् ।
खेलको ३० औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गर्दै नेपाललाई ४-२ को अग्रता दिलाईन् । खेलको ३४ औं मिनेटमा सावित्राको पासमा अनिताले गोल गर्दै नेपाललाई ५-२ को अग्रता दिलाईन् ।
खेलको ३७ औं मिनेटमा कप्तान निरुले गोल गर्दा पहिलो हाफमा नेपाल ६–२ गोल अन्तरले अघि रह्यो ।
दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५४ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो गोल गर्दै नेपाललाई ७-२ को अग्रता दिलाईन् ।
त्यसपछि खेलको ८९ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ८-२ गोलको फराकिलो जित दिलाईन् ।
जितसँगै नेपालले तीन अंकबाट प्रतियोगिताको सुरुवात गरेको छ । र, नेपाल लिगको दोस्रो स्थानमा रहेको छ ।
अब नेपालले दोस्रो खेलमा सोमबार उज्वेकिस्तानको सामना गर्नेछ । राउण्ड रोबिनको आधारमा जारी लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
आइतबार नै भएको पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० ले पराजित गरेको छ ।