एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारको स्पेनिस क्लब बार्सिलोना फर्कने सम्भावना लगभग सकिएको छ ।
यसै समर ट्रान्सफर विन्डोमा बार्सिलोना फर्कने प्रयास गरेका पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार जनवरीको ट्रान्सफर विन्डोमा क्लब फर्कने अनुमान गरिएको थियो ।
तर, क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमुले भने नेयमारलाई क्लबले जनवरीमा अनुबन्ध नगर्ने बताएका छन् ।
बार्सिलोना क्लबको टेलिभिजनसँग कुरा गर्दै अध्यक्ष जोसेपले अहिलेको अवस्थामा नेयमारलाई क्लबले अनुबन्ध नगर्ने बताएका छन् ।
जनवरीमा नेयमार बार्सिलोना फर्कने सम्भावना कति छ भन्ने प्रश्नमा अध्यक्ष जोसेपले भने, 'छैन, तत्काल छैन । बार्सिलोनाले पहिल्लै आफ्नो टिमको योजना बनाएको छ ।'
बार्सिलोनाले यसै ट्रान्सफर विन्डोमा नेयमारलाई क्लब फर्काउन कोशिश गरेको थियो । तर, पीएसजीले महँगो मूल्य र उनको सट्टामा राम्रो खेलाडी माग गरेपछि बार्सिलोना पछि हटेको थियो ।
यस्तै अध्यक्ष जोसेपले नेयमार अनुबन्ध गर्नु क्लबको योजना भित्र नरहेको समेत बताए ।
'नेयमार अनुबन्ध गर्नु बजारमा एउटा मौका आएको थियो । उनको अनुबन्ध अतिरिक्त थियो । यो योजना गरिएको थिएन,' अध्यक्ष जोसेपले थपे ।