बाहिरियो श्रीलंका

काठमाडौं। घरेलु मैदानमा न्यूजिल्यान्डसँग पराजित हुँदै श्रीलंका टी–२० विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ। लगातार दोस्रो हारसँगै श्रीलंकाको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको हो।
न्यूजिल्यान्डले ६१ रनको जित दर्ता गर्दै सुपर एट चरणबाट श्रीलंकालाई बाहिर पठाएको हो। १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुआत अत्यन्तै कमजोर रह्यो। इनिङ्सको पहिलो बलमै पाथुम निसांका म्याट हेनरीको बलमा बोल्ड आउट भए। तेस्रो ओभरको पहिलो बलमा चरिथ असलंकालाई पनि हेनरीले आउट गरे, त्यसबेला श्रीलंकाको स्कोर मात्र ६ रन थियो।
कुशल मेन्डिस र पवन रथनायकेले पारी सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्। रचिन रविन्द्रको बलमा अगाडि बढ्दा मेन्डिस स्टम्प आउट भए। त्यसपछि अर्को बलमै रथनायके पनि आउट भए। टोलीको स्कोर २९ रन पुगेको थियो।
कप्तान दासुन शनाकाले पनि लामो समय टिक्न सकेनन्। ५ बलमा ३ रन बनाएर उनी रचिनकै बलमा फिन एलेनको हातमा क्याच दिएर फर्किए। टोलीको ५९ रन हुँदा दुनिथ हेमन्थालाई पनि रचिनले आउट गरे।
एक छेउ सम्हालेर संघर्ष गरिरहेका कामिन्दु मेन्डिसले २३ बलमा ३१ रन बनाए पनि उनलाई मिचेल स्यान्टनरले आउट गरे।
अन्ततः श्रीलंका १०७ रनमै अलआउट भयो। कोलम्बोस्थित आर. प्रेमदासा रंगशालामा टस जितेर श्रीलंकाले न्यूजिल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। टिम सिफर्ट र फिन एलेनले न्यूजिल्यान्डलाई राम्रो सुरुआत दिलाएका थिए।
तर टोलीको ८४ रन पुग्दा ६ विकेट गुमाएपछि न्यूजिल्यान्ड दबाबमा परेको थियो। त्यसपछि कोल म्याककन्ची र मिचेल स्यान्टनरले ४७ बलमा ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै न्यूजिल्यान्डले १६८ रन बनायो।














-1771987903946.webp&w=3840&q=75)
