सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

काठमाडौं। इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपको सुपर ८ को पहिलो खेलमा श्रीलंकालाई १४७ रनको सामान्य लक्ष्य दिएको छ।
पल्लीकेलेमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको हो।
इङ्ल्यान्डका फिल साल्टले सर्वाधिक ६२ रन बनाए। उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। तर, अन्य ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोली सामान्य स्कोरमा सीमित भयो। कप्तान ह्यारी ब्रुकले ७ बलमा १४ रन जोडे भने विल ज्याक्सले १४ बलमा २१ रन बनाए।
सुरुआतमै जोस बटलर ७ रनमा आउट भएपछि इङ्ल्यान्ड दबाबमा परेको थियो। नियमित अन्तरालमा विकेट झर्दा टोलीले गति सम्हाल्न सकेन। अन्तिम पाँच ओभरमा ४० रन जोडिए पनि ३ विकेट गुमाउनुपर्यो।
बलिङतर्फ श्रीलंकाका दुनिथ वेलालागेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। माहिश थिक्सानाले २ विकेट लिए भने दिलशान मदुशंकाले पनि २ विकेट हात पारे।
दुष्मन्था चामेराले १ विकेट लिए।














