बंगलादेशसँग झुकेन आईसीसी, स्कटल्यान्डले खेल्ने भयो विश्वकप

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी मेन्स टी–२० विश्वकप २०२६ मा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराउने निर्णय गरेको छ।
आईसीसीले सार्वजनिक गरेको विज्ञप्तिमा प्रकाशित खेल तालिकाअनुसार प्रतियोगितामा सहभागी हुन बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले अस्वीकार गरेपछि स्कटल्यान्डलाई प्रतिस्थापन टोलीका रूपमा समावेश गरिएको हो।
२० टोली सहभागी हुने उक्त प्रतियोगिता आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारतमा आयोजना हुँदैछ। बीसीबीले भारतमा हुने आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको थियो। तर, बंगलादेशी टोलीका लागि भारतमा कुनै पनि विश्वसनीय वा पुष्टि हुन सक्ने सुरक्षा खतरा नभएको निष्कर्ष निकाल्दै आईसीसीले उक्त माग अस्वीकार गरेको थियो।
आईसीसीका अनुसार बीसीबीले उठाएका चिन्ताहरू समाधान गर्न तीन हप्ताभन्दा बढी समयसम्म विस्तृत प्रक्रिया अपनाइएको थियो। यस क्रममा आईसीसी र बीसीबीबीच भिडियो कन्फरेन्स तथा प्रत्यक्ष बैठकमार्फत संवाद गरिएको थियो।
यस अवधिमा आईसीसीले आन्तरिक तथा बाह्य सुरक्षा विज्ञमार्फत स्वतन्त्र सुरक्षा मूल्याङ्कन गराएको थियो। साथै संघीय र राज्यस्तरीय सुरक्षा व्यवस्था, खेल अवधिभर लागू हुने कडा तथा चरणबद्ध सुरक्षा प्रोटोकलबारे विस्तृत योजना बीसीबीसँग साझा गरिएको थियो। यी विषयहरू आईसीसी बिजनेस कर्पोरेसन (आईबीसी) बोर्डको छलफलमा समेत पुनः दोहोर्याइएका थिए।
सबै मूल्याङ्कनपछि भारतमा बंगलादेशी टोली, पदाधिकारी वा समर्थकहरूका लागि कुनै पनि ठोस सुरक्षा खतरा नरहेको निष्कर्षमा आईसीसी पुगेको विज्ञप्तिमा उल्लेख छ। यस आधारमा प्रतियोगिताको तालिका परिवर्तन गर्नु उपयुक्त नहुने निर्णय गरिएको हो। साथै तालिका परिवर्तनले प्रतियोगिताको निष्पक्षता, तटस्थता र भविष्यका प्रतियोगिताहरूमा गलत नजिर बस्ने जोखिम रहने आईसीसीको ठहर छ।
बुधबार बसेको आईबीसी बोर्डको बैठकले बीसीबीलाई २४ घण्टाभित्र प्रतियोगितामा सहभागी हुने वा नहुनेबारे स्पष्ट जवाफ दिन आग्रह गरेको थियो। तर, तोकिएको समयभित्र कुनै पुष्टि नआएपछि आईसीसीले आफ्नो शासकीय प्रक्रिया र छनोट प्रणालीअनुसार प्रतिस्थापन टोली चयन गरेको हो।
प्रतिस्थापन टोलीका रूपमा छनोट भएको स्कटल्यान्ड छनोट हुन नसकेका टोलीमध्ये सबैभन्दा उच्च वरीयतामा रहेको टिम हो। हाल स्कटल्यान्ड टी–२० अन्तर्राष्ट्रिय वरीयतामा १४औं स्थानमा छ। विश्वकपमा सहभागी सात टोली नामिबिया, युएई, नेपाल, अमेरिका, क्यानडा, ओमान र इटालीभन्दा स्कटल्यान्ड बलियो टोली हो।













