‘मोफसल डर्बी’मा आशीषको दुई गोल

काठमाडौं। आशीष गुरुङको २ गोलसँगै लालीगुराँस एसोसिएन क्लबले राष्ट्रिय लिगअन्तर्गत ‘मोफसल डर्बी’मा फराकिलो जित हात पारेको छ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा लालीगुराँसले नव जनजागृति क्लबलाई ४–१ ले पराजित गरेको हो। लालीगुराँसको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो। योसँगै लालीगुराँसले ६ अंक पुर्याएको छ।
जनजागृतिको भने यो लगातार दोस्रो हार हो। लालीगुराँसको जितमा आशीषबाहेक अब्दुल यसुफ हाउले र अकोएते जुनियर डोनुले समान एक गोल थपे।
जनजागृतिका उमेश सञ्जेलले एक गोल फर्काए। खेलको २६औं मिनेटमै युसुफको गोलमार्फत लालीगुराँसले सुरुआती अग्रता लिएको थियो।
५५ र ६०औं मिनेटमा आशीषले दुई गोल गर्दै अग्रता ३–० मा पुर्याए। निर्धारित समयको खेल सकिँन एक मिनेट बाँकी रहँदा जुनियरले गोल गर्दै फराकिलो जितको आधार तय गरे।
इन्ज्युरी समयको पहिलो मिनेटमा उमेशले गोल फर्काए पनि सान्त्वनाबाहेक अन्य बनेन।








-1768735373267.jpeg&w=3840&q=75)




