मानेको नेतृत्वमा सेनेगल अफ्रिका कप च्याम्पियन

काठमाडौं। साडियो मानेले गोल गर्न सकेनन्। तर, आइतबार मोरक्कोमा सम्पन्न अफ्रिका कप अफ नेसन्सको फाइनलमा आयोजक मोरक्कोविरुद्ध सेनेगलको १–० को नाटकीय जितका नायक उनै बने।
खेल अन्त्यतिर अत्यन्तै विवादास्पद अवस्था सिर्जना भयो। इन्जुरी समयमा मोरक्कोलाई पेनाल्टी दिइएपछि आक्रोशित सेनेगाली समर्थकहरू मैदानमा प्रवेश गर्न खोज्दा खेल रोक्ने अवस्थामा पुग्यो। त्यसको केही क्षण अघि सेनेगलले गरेको स्पष्ट गोल अमान्य गरिएको थियो। यसले तनाव झन् चर्कियो।
मैदानमा सुरक्षाकर्मी र समर्थकबीच झडप भयो भने मोरक्कोका वैकल्पिक खेलाडीहरूसँग सेनेगलका खेलाडीबीच पनि विवाद चर्कियो। सेनेगलका प्रशिक्षक पापे थियावले खेलाडीहरूलाई मैदान बाहिर लैजाँदा खेल रद्द हुने आशंका समेत उत्पन्न भएको थियो।
यसैबीच अनुभवी फ्रेन्च प्रशिक्षक क्लोदले रोयले साइडलाइनमा मानेसँग कुरा गर्दै खेल पुनः सुरु गर्नु टिमका लागि राम्रो हुने सल्लाह दिएका थिए। मानेले त्यसमा सहमति जनाउँदै आफ्ना सहकर्मीहरूलाई मैदान फर्कन संकेत गरे।
१४ मिनेटको ढिलाइपछि मोरक्कोले पेनाल्टी प्रहार गर्यो। तर, सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले ब्राहिम डियाजको कमजोर प्रहार सजिलै बचाए। खेल अतिरिक्त समयमा प्रवेश गर्यो। अतिरिक्त समयको चौथो मिनेटमै पापे गेयेले सानदार प्रहार गर्दै सेनेगललाई ऐतिहासिक जित दिलाए।
‘हामीले अन्याय महसुस गरेका थियौँ,’ गेयेले भने,‘हाम्रो स्पष्ट गोल मान्य भएन। साडियोले हामीलाई फर्कन भने हामी पुनः एकजुट भयौं। मेन्डीले पेनाल्टी रोके, हामी केन्द्रित रह्यौं र अन्ततः जित हात पार्यौं।’
खेलभरि माने मोरक्कोको रक्षापंक्तिका लागि निरन्तर खतरा बने। उनलाई रोक्न प्रायः तीनभन्दा बढी रक्षक चाहिन्थ्यो। निलम्बित कप्तान कालिदु कुलिबालीको अनुपस्थितिमा मानेले टोलीको नेतृत्व गरे।
३३ वर्षीय मानेले इजिप्टविरुद्ध सेमिफाइनल जितेपछि यो आफ्नो अन्तिम अफ्रिका कप हुने बताएका थिए। उनले अहिलेसम्म ६ अफ्रिका कप खेलेका छन् र दुई पटक उपाधि जितिसकेका छन्। प्रशिक्षक थियावले भने उनलाई निर्णय पुनर्विचार गर्न आग्रह गरिसकेका छन्।
६९,५०० क्षमताको प्रिन्स मौले अब्देल्लाह रंगशालामा अन्त्यसम्म थोरै दर्शक मात्र उपस्थित थिए। तर, ती सीमित सेनेगाली समर्थकहरूले मानेको हातबाट ट्रफी उठेको क्षण साक्षात्कार गरे। सेनेगलको राजधानी डाकारमा भने यो जितले भव्य उत्सव सुरु गरायो।







-1768735373267.jpeg&w=3840&q=75)





-1768722799188.jpeg&w=3840&q=75)