क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !
-1768572164221.png&w=3840&q=75)
काठमाडौं। एक दशकपछि पुनः सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा हालसम्म चार खेल सम्पन्न भइसकेका छन्।
३० पुसबाट सुरु भएको लिगमा सहभागी अधिकांश टोलीका मुख्य प्रशिक्षकहरूले लामो समय लिग नहुँदा खेलाडी व्यवस्थापनमा कठिनाइ भएको गुनासो गर्दै आएका छन्।
तर ‘ए’ डिभिजन लिगका अनुभवी क्लब मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) भने यस मामिलामा फरक देखिएका छन्। शुक्रबार आफ्नो पहिलो खेल खेल्दै गरेका यी दुई क्लबले टिम अफिसियल र टिम स्टाफमा आफ्नै अध्यक्षलाई बेन्चमा राखेका छन्, जुन नेपाली फुटबलमा असामान्य अभ्यास मानिन्छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको आधिकारिक लाइनअपअनुसार मच्छिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठ स्वयं टोलीको अफिसियलको रूपमा बेन्चमा बस्नेछन्।
उनी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व म्यानेजरसमेत हुन्। श्रेष्ठ गत १७ माघमा मच्छिन्द्र क्लबको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।
यस्तै, न्युरोड टिम (एनआरटी) ले क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशीलाई टिम स्टाफको रूपमा बेन्चमा राखेको छ। जोशी दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्षसमेत हुन्।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार टिम बेन्चमा बस्ने स्टाफको छनोट मुख्य प्रशिक्षकले गर्ने प्रचलन रहेको छ।
तर, मच्छिन्द्र र एनआरटीले भने क्लबकै निर्णयमा आफ्ना अध्यक्षलाई बेन्चमा राखेका हुन्, जसले राष्ट्रिय लिगमा फरक अभ्यासको चर्चा सुरु गराएको छ।







-1768550031655.png&w=3840&q=75)




