आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को मिनी अक्सन मंगलबार अबुधाबीमा सम्पन्न भएको छ।
अक्सनमा १५६ खेलाडीमाथि बोली लाग्यो। १० टोलीले कुल २१५.४५ करोड भारु (३ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ) खर्च गर्दै ७७ खेलाडी खरिद गरे। तीमध्ये २९ विदेशी र ४८ भारतीय खेलाडी छन्। आइपीएल २०२६ को सुरुआत मार्च २६ बाट हुनेछ।
अस्ट्रेलियाली अलराउन्डर क्यामरन ग्रीन आइपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन्। उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारुमा खरिद गर्यो।
यससँगै ग्रीनले आफ्नै देशका मिचेल स्टार्कको रेकर्ड तोडे। उनलाई २०२४ मा सोही टोलीले २४ करोड ७५ लाख भारुमा किनेको थियो। आइपीएल इतिहासका सबैभन्दा महँगो खेलाडीको सूचीमा ऋषभ पन्त २७ करोड भारुसहित पहिलो र श्रेयस अय्यर २६ करोड ७५ लाख भारुसहित दोस्रो स्थानमा छन्।
यद्यपि, कोलकाताले ग्रीनलाई २५ करोड २० लाख भारुमा किनेको थियो। तर, विदेशी खेलाडीका लागि तोकिएको तलब सीमा अनुसार ग्रीनले व्यक्तिगत रूपमा १८ करोड मात्र पाउनेछन्। बाँकी ७ करोड २० लाख बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को ‘प्लेअर वेलफेयर कोष’मा जानेछ।
बीसीसीआईले गत वर्षदेखि मिनी अक्सनमा विदेशी खेलाडीका लागि १८ करोड भारुको माथिल्लो सीमा तोकेको हो। ताकि अत्यधिक मागका नाममा अनुचित फाइदा नलिइयोस्।
प्रशान्त र कार्तिक सबैभन्दा महँगो ‘अनक्याप्ड’ भारतीय
यस अक्सनमा युवा भारतीय खेलाडीमाथि टोलीहरूले ठूलो भरोसा देखाए। २० वर्षीय प्रशान्त वीर र १९ वर्षीय कार्तिक शर्मालाई १४ करोड २० लाखमा खरिद गरियो।
दुवैलाई चेन्नई सुपर किङ्सले ३० लाखको आधार मूल्यबाट झण्डै ४७ गुणा बढी रकम तिरेर टोलीमा भित्र्याएको हो। चेन्नाईले यी दुई खेलाडीमा मात्र कुल २८ करोड ४० लाख खर्च गरेको छ।
यी दुवै यस सिजनका सबैभन्दा महँगो अनक्याप्ड भारतीय खेलाडी बनेका छन्। प्रशान्त उत्तर प्रदेशका हुन् भने कार्तिक राजस्थानका। यसबाहेक जम्मू–कश्मीरका आकिब नबी डारलाई दिल्ली क्यापिटल्सले ८ करोड ४० लाखमा आफ्नो टोलीमा समावेश गरेको छ।
कोलकाताको पथिराना–मुस्तफिजुरमा ठूलो दाउ
पेसर बलरको सेटमा कोलकाता सबैभन्दा सक्रिय देखियो। उसले श्रीलंकाका मथिशा पथिराना (१८ करोड) र बंगलादेशका मुस्तफिजुर रहमान (९ करोड २० लाख) लाई खरिद गर्यो।
स्पिनरहरूतर्फ रवि बिश्नोईलाई राजस्थान रोयल्सले ७ करोड २० लाखमा किनेको छ। त्यस्तै, वेंकटेश अय्यरलाई रोयल च्यालेन्जर्स बैंग्लोरले ७ करोडमा भित्र्यायो।
उल्लेखनीय कुरा के छ भने २०२४ को मेगा अक्सनमा कोलकाताले वेंकटेशका लागि २३ करोड ७५ लाख भारु खर्च गरेको थियो।
कोन्वे, तीक्ष्णा र मुजीब ‘अनसोल्ड’
२०२३ को फाइनलका ‘प्लेयर अफ द म्याच’ डेवोन कोन्वे, श्रीलंकाका मिस्ट्री स्पिनर महीश तीक्ष्णा र अफगानिस्तानका मुजीब उर रहमानप्रति कुनै पनि फ्रेन्चाइजले चासो देखाएन।
उनीहरूको नाम दुई पटक अक्सन पूलमा आए पनि अनसोल्ड नै रहे। यस्तै, अस्ट्रेलियाका जेक फ्रेजर–म्याकगर्क, वेस्ट इन्डिजका अल्जारी जोसेफ र दक्षिण अफ्रिकाका जेराल्ड कोएत्जीलाई पनि कसैले खरिद गरेन।











