काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद यसै बर्ष हुने बताएका छन् । राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान सानले प्रकाशन गरेको स्पोर्ट्स क्वाटरली पुस्तक विमोचन कार्यक्रमा शुक्रबार सदस्य–सचिव विष्टले कुनैपनि हालतमा राष्ट्रिय खेलकुद प्रतियोगिता यसै बर्ष गरिने दाबी गरे ।
'आठौं राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन भन्नेमा कसैले द्विविधा नराखे हुन्छ । आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुन्छ । कुनै हालतमा रोकिन्न ।’ उनले भने ‘आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट भइसकेको छ । निर्माणको काम तीव्र गतिमा अगाडि बढी रहेको छ । नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेप आठौं राष्ट्रिय खेलकुद गर्नेमा प्रतिबद्ध छ । प्रदेश छनोटको मिति पनि तोकिसकेका छौं । आठौं राष्ट्रिय खेलकुदसंग सम्बन्धित अन्य धेरै कुरा अगाडी बढी सकेका छन् । अलि कति तिथि मितिमा तल माथि होला । तर, आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ । सबै ढुक्क भए हुन्छ ।’
स्पोर्ट्स क्वाटरलीको सदस्य सचिव विष्ट र राखेपका सदस्य एकेन्द्र कुँवरले संयुक्त विमोचन गरेका थिए। पुस्तकमा विभिन्न खेलको नियम, शारीरिक शिक्षाको महत्व, खेल मनोविज्ञान, खेलाडीको अन्तरवार्ता, खेलकुदमा वैज्ञानिक पद्धतिको महत्व, खेल विज्ञहरुको लेख लगायतका विषयवस्तु समेटिएका छन् ।
पुस्तक प्रकाशन गर्न सानका उप निर्देशक महेन्द्रकुमार राईको संयोजकत्वमा ५ सदस्यीय पुस्तक प्रकाशन समिति गठन गरिएको छ । समितिको प्रमुख सल्लाहकारमा सदस्य–सचिव विष्ट, सल्लाहकारमा सानका निर्देशक नवीन उप्रेती र प्रेस सल्लाहकार रोहित दाहाल, सह–संयोजकमा सानकी प्रशासन प्रमुख अनन्तदेवी खनाल तथा सदस्यमा विकासविक्रम शाह, दामोदर अर्याल र प्रतीक्षा खरेल रहेका छन् ।
सानका निर्देशक उप्रेतीले पुस्तक चौमासिक रुपमा नियमित प्रकाशन गर्ने प्रतिबद्धता जनाउदै पुस्तकलाई अझ स्तरीय बनाउदै लैजाने बताए ।