पाल्मर ‘फिट’, आर्सनलविरुद्ध खेल्ने

काठमाडौं । चेल्सीका फरवार्ड कोल पाल्मर आइतबार स्टामफोर्ड ब्रिजमा लण्डन प्रतिद्वन्द्वी आर्सनलविरुद्ध हुने प्रिमियर लिग खेलका लागि ‘फिट’ भएका छन्।
२३ वर्षीय ईङ्लिस खेलाडीले गत हप्ता पैतला ठोक्किँदा खुट्टाको औँलामा चोट लागेपछि बर्नली र बार्सिलोनाविरुद्धका खेल गुमाएका थिए। यसअघि पनि चोटका कारण समस्यामा रहेका पाल्मरले यस सिजन सबै प्रतियोगितामा जम्मा पाँच खेल मात्र खेल्न सकेका छन्।
चेल्सीका प्रशिक्षक इन्जो मारेस्काले भने, “उनी सुरुबाटै खेल्न उपलब्ध छन्। सबै जना खुसी छन्, टिमका साथीहरू खुसी छन्, सबैभन्दा महत्वपूर्ण कुरा कोल आफैँ पनि खुसी छन्, किनकि खेलाडी खेल्न र दैनिक प्रशिक्षणमा सामेल हुन पाउनु चाहन्छ।”
उनले थपे, “उनी हाम्रो उत्कृष्ट खेलाडी हुन्। उनी फर्किनुमा खुशी छौँ। उनलाई शतप्रतिशत फिट हुन अझै केही समय चाहिन्छ। उनले अघिल्लो दिनहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन् र भविष्यमा पनि धेरै राम्रो गर्नेमा कुनै शंका छैन।”
गत हप्ता मारेस्काले आइतबारको खेल पाल्मरका लागि अलि चाँडो हुन सक्ने संकेत गरेका थिए। तर अहिले उनी उपलब्ध भएकाले शीर्ष दुईमा रहेको चेल्सीका लागि ठूलो राहत भएको छ। दोस्रो स्थानमा रहेको ब्लुज टोलीले जित निकाल्न सकेमा शीर्षस्थानमा रहेको आर्सनलसँगको दूरी तीन अंकमा झर्नेछ।
पाल्मरले पछिल्लो पटक २० सेप्टेम्बरमा म्यान्चेस्टर युनाइटेडविरुद्ध २–१ को हारमा खेलेका थिए। त्यसपछि चेल्सीले सबै प्रतियोगितामा १३ खेल खेलेको छ, जसमा १० जित, दुई हार र एक बराबरी।
६० मिलियन पाउण्डमा २०२३ सेप्टेम्बरमा म्यान्चेस्टर सिटीबाट आएपछि पाल्मर लगातार दुई सिजन चेल्सीका सर्वाधिक गोलकर्ता बनेका छन् । पहिलो सिजन २२ गोल र पछिल्लो सिजन १५ गोल।






-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)




-1764236044054.jpeg&w=3840&q=75)