टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

काठमाडौं। अर्को वर्ष हुने टी–२० विश्वकपमा भारत र श्रीलंकाले फरक–फरक चुनौतीको सामना गर्नेछन्। आयोजक तथा साबिक विजेता भारत अपेक्षाकृत सजिलो समूहमा छ भने सहआयोजक श्रीलंका निकै कठिन समूहमा परेको छ।
तर, नेपाली क्रिकेटप्रेमीका लागि सुखद् कुरा भनेको नेपाल अनुभव बटुलिसकेको टोलीको समूहमा परेको छ।
क्रिकबजको रिपोर्ट अनुसार नेपाल समूह ‘डी’मा परेको छ। यस समूहमा समान दुईपल्टको विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसँगै बंगलादेश र इटाली छन्। यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ।
यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यसबारे नोभेम्बर २५ मा मुम्बईमा हुने एक कार्यक्रममा औपचारिक रूपमा घोषणा गर्नेछ।
नेपालले लगातार दोस्रोपल्ट तथा समग्रमा तेस्रोपल्ट विश्वकप खेल्न लागेको हो। यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकपमा नेपालले डेब्यु गरेको थियो। सोही मञ्चमा फर्किन नेपाललाई करिब एक दशक नै लाग्यो। तर, लामो प्रतीक्षा गरे पनि नेपालको दोस्रो सहभागिता सुखद् भने हुन सकेन।
गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। उक्त प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकाजस्तो बलियो टेस्ट राष्ट्रलाई एक रनको नतिजा सुम्पिए पनि नेदरल्यान्ड्स र बंगलादेशजस्तो मध्यम टोलीविरुद्ध फराकिलो हार बेहोरेको थियो।
अझ दुख लाग्दो कुरा त वर्षका कारण श्रीलंकाजस्तो अर्को टेस्ट राष्ट्रविरुद्ध खेल्ने अवसर नै गुमाएको थियो। तर, समग्रमा तेस्रोपल्ट विश्वकप खेल्न लागेको नेपालले फेरि यस्तै बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
क्रिकबजको रिपोर्ट अनुसार सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
नेपाल रहेको समूह ‘डी’मा वेस्ट इन्डिज र इङ्ल्यान्डसहित बंगलादेश र इटाली छन्। प्रतियोगिताको ढाँचा अघिल्लो संस्करण जस्तै रहनेछ। प्रत्येक समूहका टोलीहरूले राउन्ड रोबिनमा एकअर्कासँग खेल खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर ८ मा जानेछन्। सुपर ८ मा समूह चरणमा गरेको प्रदर्शनका आधारमा चार टोलीलाई दुई समूहमा राखिनेछ। र, दोस्रो राउन्ड रोबिन खेल्नेछन्। सुपर ८ पछि प्रत्येक समूहका शीर्ष दुई टोलीहरू नकआउट चरणमा पुग्नेछन्।
नेपालका लागि यो समूहमा इङ्ल्यान्ड र इटाली मात्र नौला टोली हुन्। अन्य दुई टोलीसँग भने नेपालले यसअघि नै खेल्दै अनुभव बटुलिसकेको छ। त्यसमा पनि बंगलादेशसँग त सन् २०१४ र २०२४ मा लगातार खेलेको अनुभव छ।
पहिलोपल्ट खेल्दा ८ विकेटले पराजित भएको नेपालले दोस्रो भेटमा भने बंगालादेशलाई २१ रनको नतिजा सुम्पिएको थियो। अर्कोतर्फ वेस्ट इन्डिजसँग पनि यसै वर्ष युएईमा भएको टी–२० आई सिरिज २–१ ले जितेको क्षण ताजै छ। त्यसैले यो समूहमा नेपालले आफ्नो लय कायम राखे सुपर ८ मा पर्ने सम्भावना रहन्छ।
समूह ‘ए’मा विश्वको नम्बर १ टी–० टोली भारत छ। यो समूहमा भारतको मुख्य प्रतिस्पर्धी पाकिस्तान मात्रै मानिएको छ। यो समूहमा नेदरल्यान्ड्स, नामिबिया र अमेरिकाजस्ता एसोसिएट टोली मात्रै छन्। प्रत्येक समूहबाट दुई टोली सुपर ८ मा पुग्ने भएकाले भारत र पाकिस्तानको यात्रा तुलनात्मक रूपमा सहज देखिन्छ।
तर, २०२४ संस्करणले कमजोर देखिएपनि अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो। श्रीलंका भने निकै चुनौतीपूर्ण समूहमा परेको छ। श्रीलंका रहेको समूह ‘बी’मा अस्ट्रेलिया, जिम्बावे, आयरल्यान्ड र ओमन छन्।
अन्तिम समूहमा भने साबिक उपविजेता दक्षिण अफ्रिकासँगै न्युजिल्यान्ड, अफगानिस्तान, युएई र क्यानडा छन्। भारतको उपाधि रक्षा अभियान अमेरिकाविरुद्ध खेल्दै सुरुआत गर्नेछ। त्यसपछि नामिबिया, पाकिस्तान र नेदरल्यान्ड्ससँग खेल्नेछन्।
पाकिस्तानसँगको भिडन्त भने श्रीलंकाको राजधानी कोलम्बोम हुनेछ। भारतमा हुने खेल मुम्बई, कोलकाता, चेन्नई, दिल्ली र अहमदावादमा राखिएको छ। श्रीलंकामा हुने खेल कोलम्बो र क्यान्डीमा हुनेछन्। अहमदावाद फाइनल खेलिने तय गरिएको छ। तर, यदि पाकिस्तान फाइनलमा पुगेको खण्डमा खेल कोलम्बोमा हुनेछ।








-1763794837011.jpeg&w=3840&q=75)


-1763853774420.webp&w=3840&q=75)

