फ्रान्स र रियललाई एमबाप्पेको चिन्ता

काठमाडौं। यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका फ्रेन्च स्टार किलियन एमबाप्पेले आफ्नो पछिल्लो ला लिगा खेलमा गोल गर्दै रियल मड्रिडलाई विजयी गराएका थिए। तर, सोही क्रममा मैदान छोड्न बाध्य भए।
घरेलु मैदान सान्टियागो बर्नबाउमा शनिबार राति भिल्लारियालविरुद्ध भएको खेलमा रियलले ३–१ को जित दर्ता गरेको थियो।
खेलको ८१औं मिनेटमा ब्राहिम डियाजको पासमा एमबाप्पेले गोल गरेका थिए। योसँगै उनले क्लब र राष्ट्रिय टोलीमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान कायम गरे।
तर, केही मिनेटपछि एंकलको चोटका कारण एमबाप्पे मैदानबाट बाहिर निस्कनुपर्यो। उनको स्थानमा ब्राजिलियन फरवार्ड रोड्रिगो प्रवेश गरेका थिए। यस सिजन क्लब फुटबलमा १० खेलमा १४ गोल गरिसकेका एमबाप्पेको चोटले सबैलाई चिन्तित बनाएको छ।
खेलपछिको प्रेस कन्फरेन्समा रियलका प्रशिक्षक जाभी अलोन्सोले भने, ‘उनी फ्रान्स टोलीमा खेल्ने कि खेल्दैनन् अहिले नै म भन्न सक्दिनँ। उनलाई केही असुविधा महसुस भइरहेको छ। राष्ट्रिय टोलीका चिकित्सकले यसबारे मूल्यांकन गर्नेछन्। यो गम्भीर कुरा होइन भन्ने अपेक्षा गरेका छौं। तर, अहिले केही निश्चित भन्न सकिँदैन।’
अन्तर्राष्ट्रिय ब्रेकमा फ्रान्सले विश्वकप छनोट अन्तर्गत दुई खेल खेल्ने छ। शुक्रबार आजरबैइजानको सामना गर्ने फ्रान्स तीन दिनपछि आइसल्यान्डसँग खेल्नेछ।
समूह ‘डी’ मा रहेको फ्रान्स पहिलो दुई खेल जित्दै ६ अंकसहित शीर्ष स्थानमा छ। यदि एमबाप्पे बाहिर रहनु पर्यो भने रियल र फ्रान्स दुवैका लागि यो ठूलो झटका हुनेछ।