अभिषेकले एसिया कपमा पाएको गाडी भारतमा चलाउन नपाउने !

काठमाडौं। भारतीय क्रिकेटर अभिषेक शर्मालाई एसिया कपको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो। पुरस्कारस्वरूप उनलाई २५ लाख भारुको एउटा एसयुभी गाडी दिइएको थियो।
तर, अभिषेकले उक्त गाडी भारतमा चलाउन वा ल्याउन पाएका छैनन्। कारण— सरकारको नियमले लगाएको रोक हो। एसिया कपमा सात इनिङ्समा ३१४ रन बनाउँदै अभिषेकको प्रदर्शन अत्यन्तै प्रभावशाली रह्यो।
तीन अर्धशतसहित २०० स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले फाइनलपछि पुरस्कारस्वरूप गाडीको चाबी हातमा पाएका थिए। चाबी प्राप्त गरेपछि उनले शुभमन गिलसँगै गाडीमा बसेर फोटो र सेल्फी खिचेका थिए।
सुरुमा गाडी लिएर भारत फर्काउने योजना थियो। तर, अहिले त्यो सम्भव देखिँदैन। समस्या गाडीको स्टियरिङसँग सम्बन्धित छ। उक्त एसयुभी गाडीको स्टियरिङ बायाँतर्फ छ।
भारतको नियमअनुसार गाडीको स्टियरिङ दायाँतर्फ हुनु आवश्यक छ। नत्र भारतीय सडकमा गाडी चलाउन पाइँदैन। त्यसकारण बायाँतर्फ स्टियरिङ भएको गाडी भारत ल्याउन नपाइएको हो।
उल्लेखनीय कुरा के भने संयुक्त अरब एमिरेट्स (यूएई) र अन्य धेरै अरब देशमा बायाँतर्फ स्टियरिङ भएका गाडीहरू सामान्य मानिन्छन्। युरोपका धेरै देशमा पनि यस्तै नियम लागू छ।
तर, अभिषेकका लागि सुखद् खबर पनि छ। जुन कम्पनीले उनलाई गाडी पुरस्कारस्वरूप दिएको थियो, उनीहरू नोभेम्बरमा भारतमा बायाँतर्फ स्टियरिङको विकल्प उपलब्ध गराउने तयारीमा छन्।
त्यसपछि मात्र अभिषेकलाई गाडी हस्तान्तरण गर्न सकिनेछ। हालसम्म कम्पनीले यसबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।














