सुल्तान र अधिकारी पारोको एनालिस्टमा नियुक्त
-1759678288369.jpg&w=3840&q=75)
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वटेक्निकल एनालिस्ट नसीम सुल्तान र एलसनराज अधिकारी भुटानी क्लब पारो एफसीसँग आवद्ध भएका छन्।
भुटानको शीर्ष डिभिजन च्याम्पियन पारो एफसीले एएफसी च्यालेन्ज लिगको समूह चरणका खेलका लागि सुल्तान र अधिकारीलाई टेक्निकल एनालिस्टमा नियुक्त गरेको हो। उनीहरू सोमबार भुटान प्रस्थान गर्ने भएका छन्।
एएफसी च्यालेन्ज लिगमा पारो एफसी समूह ‘ए’ मा रहेको छ। सो समूहमा सात पटकको घरेलु च्याम्पियन तुर्कमेनिस्तानको अल्टिन असिर एफसी, ओमानको अल–सबहा क्लब र किर्गिस्तानको एफसी अब्दिश–अतासमेत छन्। प्रतियोगिताका खेलहरू अक्टोबर २५ देखि ३१ सम्म भुटानमै हुनेछन्।
सुल्तानले यसअघि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकालमा नेपाली राष्ट्रिय टोलीका एनालिस्टका रूपमा काम गरेका थिए।
साथै, सुल्तान र अधिकारीले गत वर्ष नेपालमै सम्पन्न एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा पारोसँग ‘रिमोट एनालिस्ट’को रूपमा पनि काम गरेका थिए। सो खेलमा जापानी स्टार केसुके होन्डाको कप्तानीमा रहेको पारोले घरेलु टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गरेको थियो।
त्यस्तै, ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लबसँग पनि एनालिस्ट र टेक्निकल एडभाइजको भूमिकामा काम गरेका थिए। इन्जिनियरिङ अध्ययन गरेका अधिकारी भने नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइजी बुटवल लुम्बिनी एफसीका एनालिस्ट हुन्।
एसियन क्षेत्रको फुटबल स्काउटसमेत रहेका उनी दोस्रो सिजनदेखि बुटवलमा छन्। चर्च ब्वाइजविरुद्ध जित निकाल्दा पुष्षलाल शर्मा पारोका मुख्य प्रशिक्षक थिए।
एनएसलको गत संस्करणमा उनी बुटवलका मुख्य प्रशिक्षक थिए। अधिकारीसँगै काम गरेका उनले टोलीलाई सुखद् नतिजा दिलाउन सकेका थिएनन्।
सात टोली सहभागी प्रतियोगितामा बुटवल एक अंक जोड्दै पुछारमा रहेको थियो। अहिले पुष्षाले पारो सम्हालिरहेका छन्। पारोले अपराजित रहँदै १७ खेलबाट ४८ अंकसहित छैटौंपल्ट भुटानी लिग जितिसकेको छ।