मेसीले १५५औं स्थानको पोर्तो रिकोसँग खेल्ने

काठमाडौं। आगामी अक्टोबरमा अमेरिका भ्रमणमा निस्कँदै गरेको अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोविरुद्ध मैत्रीपूर्ण खेल खेल्न २८ सदस्यीय टोली घोषणा गरेको छ।
फिफा वरीयतामा अर्जेन्टिना तेस्रो स्थानमा छ। भेनेजुएला ४९ र पोर्तो रिको १५५औं स्थानमा छ।
मुख्य प्रशिक्षक लिओनल स्कालोनीले शुक्रबार घोषणा गरेको टोलीमा कप्तान लिओनल मेसीसमेत परेका छन्। दुई खेलको निलम्बन पूरा गरेर एन्जो फर्नान्डेज पनि टोलीमा फर्किएका छन्।
यसपटक अर्जेन्टिनाको टोलीमा तीन नयाँ अनुहार समावेश भएका छन्। पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडीमा मिडफिल्डर अनिबाल मोरेनो, डिफेन्डर लाउटारो रिभेरो र गोलकिपर फाकुन्दो क्याम्बेसेस छन्।
त्यसैगरी लामो समयपछि डिफेन्डर मार्कोस सेनेसी पनि टोलीमा फर्किएका छन्। २८ वर्षका उनले अर्जेन्टिनाका लागि अन्तिमपटक सन् २०२२ को जुन महिनामा एक मात्र अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
हाल ब्राजिलियन क्लब पाल्मेइरासका लागि खेलिरहेका मिडफिल्डर अनिबाल मोरेनो घरेलु लिगमा उत्कृष्ट प्रदर्शनपछि पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन्।