संघर्षबाट उठेको अन्जनाको फुटबल करियर

आश्मा राई ।
चितवन। “छोरी मान्छेले फुटबल खेल्छन् र ? त्यसको त के भविष्य हुन्छ र ?”
यस्ता वाक्यांश अञ्जना क्षेत्रीले बाल्यकालदेखि धेरैपटक सुनेकी हुन्। तर आज उनी यही खेलमार्फत चितवन जिल्लाकी दोस्रो महिला फुटबल प्रशिक्षक बन्न सफल भएकी छिन्।
साविकको भरतपुर नगरपालिका हाल भरतपुर महानगर–२४ मा जन्मिएकी अञ्जना बुवा–आमाकी जेठी छोरी हुन्। १३ वर्षको उमेरमा ६,७ कक्षामा पढ्दादेखि नै उनी फुटबलप्रति आकर्षित भइन्।
गाउँघरका छिमेकी दाजुहरूले खेलिरहेको देख्दा फुटबलले उनलाई पनि मैदानतर्फ आकर्षित गर्यो । घरबाट पैसा चोरेर दाजुहरूलाई फुटबल किन्न पैसाको जोहो गर्थिन् । २–३ जना मात्र महिला हुन्थे, बाँकी दाईहरुबीच खेल्दा अप्ठ्यारो मान्दामान्दै पनि मैदान छोड्न नसक्ने उनको बानी बन्यो ।
एक दिन गोलरक्षक नभएकाले उनलाई नै किपर राखियो। उनी निडर र हक्की स्वभाव भएकोले उनलाई किपर राखिएको थियो तर बल रोक्ने प्रयासमा बल छातीमा ठोक्किँदा अञ्जना अचेत भइन् । त्यसपछि उनलाई घरबाट खेल्नै नदिने निर्णय भयो। तर त्यो चोटले उनको सपना चकनाचुर बनाएन, बरु अझै दृढ बनायो।
खेलप्रतिको मोहले गर्दा उनले विद्यालयमै महिला टिम बनाउन आग्रह गरिन्। तर विद्यालय प्रशासनले “छोरी मान्छेले फुटबल खेल्दैनन्” भनेर इन्कार गर्यो। यही इन्कारले उनलाई अझै दृढ बनायो।
विद्यालय प्रशासनको इन्कारले उनको उडान रोकिएन, अञ्जनापछि भरतपुर महानगर २४ को वडास्तरीय फुटबल संघको उपाध्यक्षमा निर्वाचित भइन्। त्यहाँबाट उनले आफ्नै वडामा महिला टिम गठनको अभियान सुरु गरिन्। उनले श्री राष्ट्रिय आधारभूत विद्यालयको बारीमै खेल्न थालेको त्यो टिमलाई छिमेकी र समाजले व्यंग्यका दृष्टिले हेर्थे।
“छोरी बिग्रियो, अरूको छोरीहरू लिएर हिँड्छ, खेल्दा के पाइन्छ ?” यस्ता टिप्पणी उनी र उनको आमाले धेरैपटक सहनुपर्यो। अञ्जनाले गाउँका बहिनी र साथीहरूलाई लिएर विद्यालयको बारीमै अभ्यास सुरु गर्न थालेपछि परिवारले र समाजले अनेक तरिकाले अपमानित गरे ।
“अरूको छोरी लिएर हिँड्छेस्”
“फुटबल खेलेर के हुन्छ ?”
“बारीमा काम गरे त दिनमा ५०० कमाउन सक्थिस्”
तर केही अभिभावक र छिमेकी महिलाले सहयोग गरे। एक जना काकीले त आफूसँगै छोरी पनि ल्याएर फुटबल खेल्न सुरु गरिन् । जसले गर्दा पहिलो महिला टिम गठन सम्भव भयो।
बिस्तारै अञ्जनाको हठले अन्ततः रंग देखायो। पछिपछि वडाबाट सहयोग जुटाउन थालेकी उनले बल, जर्सी जस्ता सामग्री पाउन थालिन्। अहिले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न जादा गाडीभाडा र खाजा खर्च वडाले नै व्यहोर्छ। जसले गर्दा उनलाई तिरस्कार गर्ने कतिलाई उनको उपलब्धिले जवाफ दिन थालिन्।
त्यतिबेला पश्चिम चितवनमा महिला फुटबल टिम नै थिएन । अञ्जनाले नै पहिलो टिम गठन गरेर सुरु गरेकी थिइन्। पश्चिम चितवनमा महिला फुटबल टिम नै नहुँदा उनले सुरु गरेको प्रयासलाई अरू वडाले पनि अनुकरण गरे। बिस्तारै महिला टिमहरूको संख्या बढ्दै गयो।
अहिले पश्चिम चितवनमा प्रशस्तै महिला खेलाडी र टिम छन्।

टोल कप, वडा कप लगायतका प्रतियोगितामा टिमलाई अगुवाई गर्दै उनले धेरै अनुभव संकलन गरिन्। कहिले जितिन्, कहिले हारिन्, तर कहिल्यै पछि हटिनन्। भरतपुर–२३ मा आयोजित वडा अध्यक्ष कपको सम्झना उनी खुब गर्वसाथ गर्छिन्। चार टिम सहभागी प्रतियोगिताको फाइनलमा भरतपुर–२४ ले पेनाल्टी सुटआउटमा जित हात पार्दा उनले टिमलाई विजय दिलाएकी थिइन्।
सबैभन्दा विडम्बनापूर्ण तर रोचक र प्रेरणादायी क्षण त अहिलेको हो, जहाँ एक समय “छोरीले फुटबल खेल्दैनन्” भन्दै उनको प्रस्ताव अस्वीकार गर्ने शिक्षक अहिले प्रधानाध्यापक बनेका छन्। र त्यही विद्यालयमा अञ्जना क्षेत्री आधिकारिक फुटबल प्रशिक्षकका रूपमा कार्यरत छिन्।
उनी प्रशिक्षक मात्र नभई अभिभावक र समाजलाई पनि सन्देश दिन सफल भएकी छिन् ।
हाल उनी भरतपुर महानगरपालिकाको नियुक्तिमा प्रभात माध्यमिक विद्यालय वडा–२५ मा फुटबल प्रशिक्षकको रूपमा कार्यरत छिन्। करिब ३०–३५ जना महिला–पुरुष खेलाडीलाई प्रशिक्षण दिँदै आएकी उनीले जिल्ला तथा प्रदेशस्तरीय छनोटमा समेत टिम लिएर सहभागी भइरहेकी छन्।
अञ्जनाको सपना
उनको सपना ठुलो छ—“मैले प्रशिक्षित गरेका खेलाडीहरूलाई राष्ट्रिय टिमको जर्सीमा देख्ने।”
अञ्जना भन्छिन्, “यो मेरो दोस्रो इनिङ्स हो र यस इनिङ्सको सबैभन्दा ठूलो प्राप्ति राष्ट्रिय टिममा आफ्ना खेलाडीलाई देख्नु हुनेछ।” उनी थप्छिन्, ‘फुटबल छोरीहरूको लागि पनि हो, भविष्य बनाउन खेल मैदान छोड्नुपर्दैन।’
अञ्जना क्षेत्रीको यात्रा केवल फुटबल खेल्ने वा प्रशिक्षक बन्ने मात्र होइन, समाजका अनेक पूर्वाग्रह चिर्दै महिलाले चाह्यो भने जुनसुकै क्षेत्रमा उचाइ हासिल गर्न सक्छन् भन्ने प्रेरणा हो। संघर्ष र कठिनाईका बीच सुरु भएको उनको फुटबल यात्रा आज चितवनको महिला फुटबललाई नयाँ ढंगले परिचय दिन सफल भएको छ।