अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

काठमाडौं। म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी वायन रुनीले संघर्षरत प्रशिक्षक रुबेन अमोरिमले परिस्थिति सुधार्ने क्षमतामा आफूलाई विश्वास नरहेको बताएका छन्।
शनिबार ब्रेन्टफोर्डसँग ३–१ को हारपछि अमोरिमले प्रिमियर लिगमा आफ्नो ३३ खेलमा जम्मा ३४ अंक मात्रै हासिल गरेका छन् र अझै लगातार जित दिलाउन सकेका छैनन्। युनाइटेडले गत सिजन ५१ वर्षकै सबैभन्दा खराब लिग खेलेको थियो। टोली १५औं स्थानमा रह्यो।
यसै समरमा क्लबले ठूलो खर्च गर्दै म्याथ्युस कुन्हा, ब्रायन म्बेउमो र बेन्जामिन सेस्कोलाई अनुबन्ध गरेको थियो। तर, पछिल्लो हारपछि फेरि १४औं स्थानमै छ। युनाइटेडका सर्वकालीन शीर्ष स्कोरर रुनीले अहिले आफू खेल हेर्न जाँदा टोली हार्ने अपेक्षासहित जाने गरेको बताएका छन्।
‘मलाई थाहा छैन के भइरहेको छ,’ ३९ वर्षीय रुनीले आफ्नो बीबीसी पोडकास्टमा भने,‘मैले पनि व्यवस्थापनमा हात हालें तर राम्रो भएन, त्यसैले बुझ्छु। अमोरिम मेरो उमेरकै छन्, उनी अझै युवा प्रशिक्षक हुन् र राम्रो भविष्य छ, तर युनाइटेडमा भइरहेको कुरा? यो म्यानचेस्टर युनाइटेड होइन। म वास्तवमै चाहन्छु कि उनले यो बदलून्। तर, जे देखिरहेको छु, त्यसपछि इमानदारीका साथ भन्नुपर्दा मलाई विश्वास छैन।’
पाँच पटकको प्रिमियर लिग र एक पटकको च्याम्पियन्स लिग जितेका रुनीले अहिलेको क्लबलाई चिन्नै नसकेको बताए। ‘म खेलाडीहरूमा लडाइँ गर्ने भावना, चरित्र र जित्ने इच्छा देख्दिनँ। खेल हेर्न जाँदा लाग्छ हार्छजस्तो लाग्छ।’ इङ्ल्यान्डका पूर्वकप्तान रुनीका अनुसार सर एलेक्स फर्गुसनको नेतृत्वमा दुई दशकसम्म इङ्लिस फुटबलमा वर्चस्व जमाएको क्लबको संस्कृति अहिले हराइसकेको छ।
‘स्टाफले जागिर गुमाइरहेका छन्, जागिर छोडिरहेका छन्। मेरो दुई छोराछोरी एकेडेमीमा छन् र यसले उनीहरूको भविष्यलाई असर नगरोस् भन्ने चाहन्छु। तर, क्लबभित्र अहिले देखिरहेको कुरा? त्यो म्यानचेस्टर युनाइटेड होइन,’ उनी भन्छन्।