नेपालको ऐतिहासिक जित

विश्वास थापा, शारजाह (युएई)। कप्तान रोहित पौडेलको अलराउन्डर प्रदर्शनसँगै नेपालले पहिलोपल्ट टी-२०आई खेलमा टेस्ट टोलीलाई पराजित गर्दै इतिहास रचेको छ।
संयुक्त अरब इमिरेट्समा जारी युनिटी कपको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो। योसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब नेपालले सोमबार दोस्रो खेल खेल्नेछ।
नेपालले दिएको १४९ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो। नेपालले क्रिकेट इतिहासमा पहिलोपल्ट टेस्ट टोली र वेस्ट इन्डिजलाई पराजित गरेको हो।
यसअघि गत वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको आइसीसी टी-२० विश्वकपमा नेपाल टेस्ट राष्ट्रविरुद्धको खेलमा जितनजिक पुगेको थियो। तर, नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो।
नेपाललाई जित दिलाउन कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, नन्दन यादव , करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।
वेस्ट इन्डिजका नवीन बिदाइसीले सर्वाधिक २२ रन बनाए। २५ बल खेलेका उनले समान १ चौका र छक्का प्रहार गरे।
वेस्ट इन्डिजले खराब सुरुआत गरेको थियो। पाँचौं ओभर नसक्दा नै दुई ओपनर कायल मेयर्स र अमिर जोङ्गुलाई गुमाएको थियो। कायलले ५ र अमिरले १९ रनको योगदान दिए। त्यसपछि क्रवमा आएका फाबियन एलोन १९, अकिल हुसैन १८, केस्सी क्यार्थी १६ र अकिम अगेस्टे १५ रनमा आउट भए।
त्यसअघि शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।
नेपालका रोहितले सर्वाधिक ३८ रन बनाए। ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे। कुशलले भने २१ बलमा समान दुई चौका र छक्कासहित ३० रन बनाए। यी दुईबीच तेस्रो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो। गुल्सनकुमार झा २२ र उपकप्तान दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
तर, नेपालले पहिलो पावर प्लेमा राम्रो सुरुआत गर्न सकेन। नेपालले दुई विकेट गुमाउँदै जम्मा ३५ रन बनाएको थियो। ओपनर कुशल भुर्तेल तेस्रो ओभरको पहिलो बलमै क्याच बिहाइन्ड द विकेट भए। ११ बलमा एक चौकासहित ६ रन बनाएका उनी हुसेनको बलमा अमिर जाङ्गोबाट क्याच भएका हुन्।
लगत्तै अर्का ओपनर आसिफ पनि क्याच भए। चार बलमा तीन रन बनाएका उनी जोसन होल्डरको बलमा ओबेड म्याकोयबाट क्याच भएका हुन्।
त्यसपछि कुशल र रोहितले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। तर, यी दुवैलाई नवीन बिदाइसीले पभिलियन फर्काए। ११औं ओभरको चौथो बलमा कुशल होल्डरबाट क्याच भए। त्यसको दुई ओभरपछि नै रोहित पनि एकिम अगस्टेबाट क्याच भए।
त्यसपछि गुल्सन र दीपेन्द्रले पाँचौं विकेटका लागि ३० रनको अर्को साझेदारी गरे। यद्यपि, गुल्सन पनि १७औं ओभरको अन्तिम बलमा बिदाइसीको बलमा केस्सी क्यार्थीबाट २२ रनमा क्याच भए। त्यसपछि दीपेन्द्र, सन्दीप जोरा र करण केसीले टिकेर फिनिसिङ गर्न नसक्दा नेपाल सस्तैमा समेटियो।
वेस्ट इन्डिजका होल्डरले सर्वाधिक चार विकेट लिए। चार नै ओभर गरेका उनले २० रन खर्चिए। समान ओभर फ्याँकेको नवीनको नाममा तीन विकेट रह्यो। उनले २९ रन खर्चिए। अकिलले भने एक विकेट हात पारे।