रोनाल्डो र मानेको गोलमा नासर लिगको शीर्षस्थानमा

काठमाडौं। साउदी प्रो लिगमा अल–इतिहादलाई २–० ले पराजित गर्दै अल–नासर शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डो र साडियो मानेले एक–एक गोल गर्दै टोलीलाई लगातार चौथो जित दिलाए।
बल नियन्त्रणमा पछि परे पनि आक्रमणमा भने अल–नासर खेलमा हाबी रह्यो। खेलको नवौं मिनेटमै पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट भलि प्रहारमार्फत मानेले टोलीलाई अग्रता दिलाए। उनलाई किङ्सले कोम्यानले क्रस उपलब्ध गराएका थिए।
३५औं मिनेटमा दोस्रो गोल गर्दै रोनाल्डोले अन्तर बढाए। मानेको क्रसलाई उनले हेडरमार्फत जाली चुमाएका थिए। यससँगै व्यवसायिक करिअरमा उनको गोल संख्या ९४६ पुगेको छ।
जारी लिगमा यो उनको चौथो गोल हो, जसले उनलाई दोस्रो सर्वाधिक गोलकर्ता बनाएको छ। उनका राष्ट्रिय टोली र क्लब सहकर्मी जोआओ फेलिक्स ५ गोलसहित शीर्ष स्थानमा छन्।
दोस्रो हाफमा पनि अल–नासर आक्रामक रह्यो तर थप गोल गर्न सकेन। अर्कोतर्फ करिम बेन्जेमाको नेतृत्वमा रहेको अल–इतिहाद बारम्बार अफसाइडमा पर्यो र दुईवटा मात्र प्रहार लक्षित गर्न सक्यो। तर, ब्राजिलियन गोलरक्षक बेन्तोले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्।
४ खेलमा १२ अंकसहित अल–नासर शीर्ष स्थानमा पुगेको छ भने समान खेलमा ९ अंकसहित अल–इतिहाद दोस्रो स्थानमा छ।